×

अधिकारीले केपी ओलीलाई टक्कर देलान् ?

images

काठमाडौं। प्रतिनिधिसभा सदस्यका लागि दलका शीर्ष नेताहरूले प्रतिस्पर्धा गरिरहेका निर्वाचन क्षेत्र निकै चर्चामा छन्। प्रतिनिधिसभा सदस्यका लागि एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली उम्मेदवार रहेको झापा निर्वाचन क्षेत्र नम्बर ५ अहिले विशेष चर्चामा छ। अघिल्लो निर्वाचनभन्दा यसपटक एमाले र ओलीका लागि अलिक फरक अवस्था छ। यसैकारण झापा ५ अहिले विशेष चर्चामा रहेको हो।

एमालेमा वर्षौंदेखि क्रियाशील र ओलीका समकालीन केही नेता अहिले पार्टीबाहिर छन्। एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा छ। अघिल्लो निर्वाचनमा एमालेसँग गठबन्धन गरेको नेकपा माओवादी पनि अहिले सत्ता गठबन्धनमा छ।

नेकपा एसका नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालले देशव्यापी रूपमै एमाले र ओलीविरुद्ध भाषण गर्दै हिँडेका छन्। राजनीतिक समीकरण बदलिएको र पार्टी पनि टुक्रिएको अवस्थामा हुन लागेको यो निर्वाचन एमाले र ओलीका लागि झापामा मात्र होइन, देशभरि नै चुनौतीपूर्ण देखिन्छ।

तर पनि ओलीले निर्वाचनपछि एमाले पहिलो पार्टी बन्ने र सरकार पनि बनाउने भन्दै आक्रामक प्रचारप्रसारमा छन्। ‘झापामा मात्र होइन, एमाले देशव्यापी रूपमा आफ्नो अभियानमा दृढ छ,’ एमाले झापा अध्यक्ष दीपक कार्कीले भने, ‘सुखी नेपाली समृद्ध नेपालको मूल अजेन्डासहित निर्वाचनमा होमिएको एमालेले झापामा मात्र नभएर मुलुकका अधिकांश क्षेत्रमा विजय हासिल गरी ओलीको नेतृत्वमा सरकार बनाउनेछ।’

ओलीले देशव्यापी रूपमा पार्टीको अजेन्डा पु र्‍याउनेभन्दा पनि आफूमाथि लागेका आरोपहरूको प्रतिरक्षा गर्नुपर्ने अवस्था छ। २०७४ सालको निर्वाचनमा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एउटै चुनावी सभामा सहभागी भएर मत मागेका थिए। त्यतिबेला एमाले र माओवादी केन्द्रले चुनावी गठबन्धन गरेका थिए। एमाले माओवादी केन्द्रसँग सहकार्य गरी प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ८० सिट जित्न सफल भएको थियो। तर अहिले परिस्थिति निकै बदलिएको छ। ओली झापा मात्र होइन, देशभर आफ्नो पकड कसरी कायम राख्ने भन्ने चिन्तामा छन्।

एमाले स्थायी कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। यसका लागि ओलीले आफ्नो निर्वाचन क्षेत्रमा मात्र जितेर पुग्दैन, देशभरबाट बहुमत सिट जित्नुपर्छ तर अवस्था सोचेजस्तो सहज छैन। २०७४ सालमा एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्र अहिले कांग्रेस नेतृत्वको सत्ता र चुनावी गठबन्धनमा छ।

ओलीले २०४८ सालदेखि निरन्तर झापाबाट चुनाव लड्दै आएका छन्। यसपटक कांग्रेस–माओवादीसहितको पाँचदलीय गठबन्धनसँग ओलीले चुनावी प्रतिस्पर्धा गर्दैछन्। २०४८, २०५१, २०५६ सालमा लगातार झापाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओली २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा माओवादीका उम्मेदवारसँग पराजित भएका थिए। त्यसबेला एमालेका तीन शीर्ष नेता माधवकुमार नेपाल, झलनाथ खनाल र ओलीमध्ये खनाल मात्र निर्वाचित भएका थिए। ओली २०७० सालमा संविधानसभा सदस्यका लागि भएको दोस्रो निर्वाचन र २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाबाट निर्वाचित भए।

ओलीको निर्वाचन क्षेत्रमा एमालेको बलियो संगठन छ। सुरुदेखि नै झापामा एमालेको संगठन बलियो हो। संगठन बलियो भए पनि झापामा एमालेले राप्रपासँग तालमेल गरेको छ। यसपटक पनि उसले राप्रपासँग तालमेल गरेको छ। एमालेभित्रको आन्तरिक किचलो गत स्थानीय तहको चुनावमा देखिएपछि राप्रपासँगको तालमेललाई मलजल भएको थियो। पार्टी विभाजनको केही असर देखिए पनि अन्तर्घातका कारण एमाले स्थानीय तह निर्वाचनमा कमजोर देखियो।

त्यसले संगठनभित्र दरार उत्पन्न भएको छ। अहिले ओली सतर्कतापूर्वक निर्वाचन गतिविधिमा सहभागी भइरहेका छन्। झापा ५ मा सत्ता गठबन्धनले कांग्रेसका खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ। अधिकारी अघिल्लो निर्वाचनमा ओलीसँग पराजित भएकाल थिए। नागरिक दैनिकबाट

शनिबार १२ कात्तिक २०७९ ०८:५३ AM मा प्रकाशित

प्रतिक्रिया