×

परम्परा तोड्दै प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण : भोलि मोदीसँग शिखर वार्ता, स्वदेशमा भने कूटनीतिक र राजनीतिक तरङ्ग

images

काठमाडौँ / नयाँदिल्ली । प्रधानमन्त्री बनेको आठौँ महिनामा बालेन्द्र शाह (बालेन) ले छिमेकी मित्रराष्ट्र भारतको दुईदिने राजकीय (स्टेट भिजिट) भ्रमण सुरु गरेका छन् । यसअघि संयुक्त राष्ट्रसङ्घको महासभाका लागि न्युयोर्क गए पनि द्विपक्षीय औपचारिक भ्रमणका रूपमा उनको यो पहिलो विदेश यात्रा हो । करिब तीन महिनाको कूटनीतिक गृहकार्यपछि सम्भव भएको यस भ्रमणलाई भारतले राजकीय मान्यता दिएको छ भने आइतबार अपराह्न नयाँदिल्ली ओर्लिएका प्रधानमन्त्री शाहलाई भारतीय राज्यमन्त्री स्तरमा स्वागत गरिएको छ ।

अन्तिम घडीमा एजेन्डाको प्राथमिकता हेरफेर, भोलि मोदीसँग वार्ता
उच्च सरकारी स्रोतका अनुसार अन्तिम घडीसम्म भ्रमणको तालिकाबारे अन्योल रहे पनि अन्ततः यात्रा सम्भव भएको हो । भ्रमणका मुख्य एजेन्डाहरू यथावत् रहे पनि तिनको प्राथमिकता भने अन्तिम समयमा केही हेरफेर गरिएको छ । विशेषगरी आर्थिक सहायता, व्यापार तथा पारवहन आदानप्रदान, हवाई रुट (एयर रुट) अनुमति, ऊर्जा, पूर्वाधार विकास र ‘कनेक्टिभिटी’ जस्ता विषयलाई नेपालले मुख्य एजेन्डा बनाएको छ । यद्यपि, आर्थिक सहायता र कनेक्टिभिटीबाहेकका कतिपय विषय ओझेलमा पर्न सक्ने कूटनीतिक वृत्तको आकलन छ ।

दिल्ली पुगेलगत्तै आइतबार साँझ प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग करिब आधा घण्टा द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विषयमा सौहार्दपूर्ण छलफल गरेका छन् । उता, भ्रमण टोलीमा सहभागी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालले भारतका निजी क्षेत्रका प्रतिनिधिसँग संवाद गर्ने तय भएको छ । विगतमा निजी क्षेत्रसँगको अन्तरक्रियामा प्रधानमन्त्री स्वयं सहभागी हुने प्रचलन रहेकामा शाहले त्यसलाई तोडेका छन् ।

भ्रमणको दोस्रो दिन भोलि सोमबार प्रधानमन्त्री शाहले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरेपछि भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक तथा एक्लाएक्लै (वान–अन–वान) वार्ता गर्नेछन् । सोही क्रममा दुई देशबीच विभिन्न समझदारीपत्रमा हस्ताक्षर र आदानप्रदान हुनेछ, जसलाई संयुक्त दृष्टिपत्रका रूपमा अघि सारिने बताइएको छ । प्रधानमन्त्री भएयता स्वदेशमा एकपटक पनि पत्रकार सम्मेलन नगरेका शाहले भोलि मोदीसँगै पहिलोपटक संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन् । दिवाभोजपछि भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरी उनी भोलि साँझ स्वदेश फर्कने कार्यक्रम छ ।

विगतको छवि र कूटनीतिक परीक्षा
जेनजी आन्दोलनपछिको शक्तिशाली निर्वाचित सरकारलाई भारतले कुन दृष्टिकोणले हेर्छ भन्ने प्रश्नको उत्तर भोलिको शिखर वार्ताले दिने कूटनीतिज्ञहरूको बुझाइ छ । काठमाडौँ महानगरपालिकाको मेयर छँदा ‘ग्रेटर नेपाल’ को नक्सा राख्ने, भारतीय चलचित्रमाथि प्रतिबन्ध लगाउने र भारतलक्षित तिखा टिप्पणी गर्ने शाह सत्ताप्रमुखका रूपमा कत्तिको परिपक्व देखिन्छन् भन्ने चासो चौतर्फी छ । यद्यपि, प्रधानमन्त्री बनेपछि संसद्मा ‘नेपालले पनि भारतको सिमाना मिचेको छ’ भन्ने अभिव्यक्ति दिएपछि उनी स्वदेशमा तीव्र आलोचनाको केन्द्रमा परेका थिए ।

परम्परा तोडिएको भन्दै स्वदेशमा राजनीतिक तरङ्ग
प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा वर्षौँदेखि चलिआएका कैयौँ औपचारिक र कूटनीतिक परम्परा तोडेको भन्दै स्वदेशमा राजनीतिक बहस चर्किएको छ ।

  • अत्यन्तै संक्षिप्त बिदाइ : ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली उड्नुअघि शाहले त्रिभुवन विमानस्थलमा नेपाली सेनाको ‘गार्ड अफ अनर’ लिएनन्, यद्यपि दिल्लीमा भने उनले सम्मान गारथ ग्रहण गरे । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसहित दुई नेताको उपस्थितिमा उनले अत्यन्तै संक्षिप्त बिदाइ लिए ।
  • ‘फस्ट लेडी’ अनुपस्थित : विगतका प्रधानमन्त्रीहरूले राजकीय भ्रमणमा पत्नी वा परिवारका सदस्यलाई ‘फस्ट लेडी’ का रूपमा लैजाने प्रचलन रहेकामा शाहले पत्नी सविना काफ्लेलाई भ्रमणमा सहभागी गराएनन् । साथै, दिल्लीबाहेक भारतका अन्य सहरको भ्रमण र भारतीय विपक्षी दलका नेताहरूसँगको भेटघाट पनि उनको कार्यतालिकामा छैन ।
  • पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श शून्य : भ्रमणअघि पूर्वप्रधानमन्त्री तथा प्रमुख दलका शीर्ष नेताहरूसँग सुझाव लिने परम्परा तोडेको भन्दै नेकपा संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीव्र असन्तुष्टि पोखेका छन् । “उहाँले के ठान्नुभएको छ कुन्नि आफैँलाई ! यसअघिका भ्रमण र उपलब्धिबाट सिकेर रणनीति बनाउन संवाद गरेको भए उहाँकै कद अग्लो हुन्थ्यो,” प्रचण्डले भने ।
  • राष्ट्रपतिलाई नभेटी उड्दा राप्रपाको कटाक्ष : भ्रमणअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट नै नगरी दिल्ली प्रस्थान गरेको विषयलाई राजावादी झुकाव राख्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गणतान्त्रिक संस्थाको अवमूल्यनका रूपमा व्याख्या गरेको छ । राप्रपा प्रमुख सचेतक खुस्बु ओलीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई व्यङ्ग्य गर्दै राष्ट्रप्रमुखको संवैधानिक गरिमा र परम्परा तोडिएको टिप्पणी गरेकी छन् ।

सरकारी पक्षले भने विपक्षी र अन्य दलबाट उठेका यी प्रश्नहरूमाथि हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

आइतबार​ ७ मंसिर २०८३ ०८:५६ PM मा प्रकाशित

प्रतिक्रिया