×

मकवानपुरको भैँसेमा सुमो जिप खोलामा खस्दा ३ जनाको मृत्यु, ७ घाइते

images

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेमा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य सात जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान करिब ८:३५ बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो जिप दुर्घटनामा परेको हो । हेटौँडा–भैँसे सडकखण्डको घुम्तीमा जिप एक्कासि अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको प्रहरीले जनाएको छ ।

अस्पताल पुर्‍याएलगत्तै तीन जना मृत घोषित

दुर्घटनालगत्तै स्थानीय बासिन्दा र प्रहरीको टोली घटनास्थलमा खटिएर उद्धार कार्य सुरु गरेको थियो । दुर्घटनामा जिपका चालकसहित सवार सबै १० जना घाइते भएका थिए । प्रहरीले उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो ।

अस्पताल पुर्‍याएपछि बिहान ९:२० बजे चिकित्सकले गम्भीर घाइते भएका तीन जनालाई मृत घोषणा गरेका हुन् । मृतकहरूको सनाखत हुने प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार हुँदै

दुर्घटनामा घाइते भएका अन्य सात जनाको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

तीव्र गति वा प्राविधिक गडबडीका कारण घुम्तीमा सवारी अनियन्त्रित भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

बिहीबार ४ मंसिर २०८३ १०:४२ AM मा प्रकाशित

प्रतिक्रिया