काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबाटै लोकतन्त्रलाई कमजोर पार्ने काम भएको गम्भीर टिप्पणी गरेका छन्। शनिबार काठमाडौँमा पार्टीको ‘नेशनल भोलिन्टियर फोर्स’ को पहिलो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालीन सरकारको सिफारिसमा असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपतिले लोकतन्त्रलाई कमजोर बनाएको आरोप लगाएका हुन्।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले प्रधानन्यायाधीश भइसकेका प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले डराएर संसद विघटन गरेको जिकिर गरे। प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा मुद्दा दर्ता भए पनि फैसला नगरी चुप लागेर बसेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। यद्यपि, उक्त मुद्दामा अदालतबाट जस्तो सुकै फैसला आए पनि नेकपा एमालेलाई स्वीकार्य हुने उनले स्पष्ट पारे।
लोकतान्त्रिक संस्थाहरू संवैधानिक तवरले चल्न नसकेको उल्लेख गर्दै ओलीले वर्तमान सरकार गठनको प्रक्रियामाथि समेत प्रश्न उठाए। अहिलेको सरकार बन्ने सिलसिला असंवैधानिक, अलोकतान्त्रिक तथा आगजनी र तोडफोडजस्ता आतंकपूर्ण गतिविधिबाट सुरु भएको उनको दाबी थियो। देशभित्र कुनै पनि प्रकारका बेथिति हुन नदिन सचेत गराउने र त्यस्ता बेथितिलाई रोकेरै छाड्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।
‘विकट परिस्थितिको प्रतिवाद गर्न भोलिन्टियर फोर्स’
कार्यक्रममा अध्यक्ष ओलीले पार्टीको ‘नेशनल भोलिन्टियर फोर्स’ कुनै रहर पूरा गर्न नभई देशमा आइपर्ने विकट परिस्थितिको तात्कालिक र दीर्घकालीन प्रतिवाद गर्न गठन गरिएको स्पष्ट पारे।
उनले भोलिन्टियर फोर्सका सदस्यहरूलाई विकास निर्माण र उद्यमशीलतामा नमुना तथा दृष्टान्त बनेर अघि बढ्न र देश वा जनतालाई अप्ठ्यारो पर्दा अग्रपङ्क्तिमा उभिएर साथ दिन निर्देशन समेत दिए।
प्रतिक्रिया