×

सामाजिक सञ्जालको अल्गोरिदमले समाजमा विकृति र भ्रम फैलाइरहेको छ : महासचिव पोखरेल

images

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सूचना प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जालको अल्गोरिदमले समाजमा विकृति र भ्रम फैलाइरहेको बताएका छन्। आइतबार काठमाडौँको टोखा नगर कमिटीले मौलिक महान् पर्वहरू एवं नेपाल संवत् ११४७ को नयाँ वर्षका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रविधि र सामाजिक सञ्जालको दुरुपयोगले मौलिक संस्कृति, परम्परा र मूल्य–मान्यतामाथि गम्भीर चुनौती थपिएको बताए।

सूचना प्रविधिको विकासलाई समयसापेक्ष आत्मसात् गर्दै त्यसबाट सिर्जना हुने विकृति र विसङ्गतिलाई नियन्त्रण गर्नुपर्नेमा महासचिव पोखरेलले जोड दिए। उनले पछिल्लो समय देखापरेका पपुलिस्ट (लोकप्रियतावादी), अराजकतावादी र अवसरवादी प्रवृत्तिबाट समाजलाई जोगाउन सबै सचेत हुनुपर्ने धारणा राखे।

सम्बोधनका क्रममा महासचिव पोखरेलले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै महँगी नियन्त्रण र जनताको जीवनस्तर सुधार गर्न सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाए। सरकारको मुख्य दायित्व नागरिकको सुख, सुविधा र समृद्धि सुनिश्चित गर्नु भए पनि त्यसअनुसारको परिणाममुखी काम हुन नसकेको उनको टिप्पणी थियो।

नेपाल संवत् ११४७ को शुभकामना व्यक्त गर्दै पोखरेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाले तत्कालीन समयमा ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराउन पुर्‍याएको ऐतिहासिक योगदानको स्मरण गरे। मौलिक चाडपर्व, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा संवर्द्धनले नै राष्ट्रिय एकतालाई थप बलियो बनाउने विश्वास उनले व्यक्त गरे।

आइतबार​ ७ मंसिर २०८३ ०८:४१ PM मा प्रकाशित

प्रतिक्रिया