×

सेयर बजारमा हरियाली: नेप्से ३३ अंकले बढ्दा हाइड्रोपावर समूहमा झुम्मिए लगानीकर्ता

images

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बुधबार) उच्च अंकले वृद्धि भएको छ। विगत केही दिनदेखि उतारचढावपूर्ण रहेको बजारमा आज नेप्से परिसूचक ३३.१५ अंकले बढेर २,११५.४५ को बिन्दुमा पुगेको छ।

परिसूचकसँगै आज बजारमा कारोबार रकममा पनि उल्लेखनीय सुधार आएको छ। दिनभर भएका कारोबारमा कुल २ सय ७० भन्दा बढी कम्पनीको शेयर खरिदबिक्री हुँदा ४ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।

आजको बजारलाई बढाउन हाइड्रोपावर (जलविद्युत) उपसमूहले मुख्य भूमिका खेलेको छ। लगानीकर्ताहरूको ध्यान जलविद्युत आज आधा दर्जनभन्दा बढी जलविद्युत कम्पनीहरूको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। राधी विद्युत कम्पनी, बरुण हाइड्रोपावर र अप्पर तामाकोशी लगायतका कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतको हाराहारीमा कमाएका छन्। यता मन्दीमा रहेका केही साना फाइनान्स र जीवन बीमा कम्पनीका लगानीकर्ताले भने सामान्य गुमाएका छन्।

रकमका आधारमा आज पनि शिवम् सिमेन्ट, एनआइसी एसिया बैंक र हिमालयन डिष्टिलरी अग्रस्थानमा रहेका छन्। मौद्रिक नीतिको समीक्षा र बैंकहरूमा तरलता (लगानीयोग्य रकम) को अवस्था सहज बन्दै गएका कारण बजारमा सकारात्मक प्रभाव परेको विश्लेषकहरूको भनाइ छ। बैंकको ब्याजदर घट्दो क्रममा रहेकाले आगामी दिनमा नेप्सेले अझै गति लिने अनुमान लगानीकर्ताहरूले गरेका छन्।

बजार विश्लेषकहरूका अनुसार प्राविधिक रूपमा नेप्सेले २१ सयको बलियो मनोवैज्ञानिक बिन्दु पार गरेकाले आगामी साता बजार अझै सकारात्मक दिशामा अघि बढ्ने सम्भावना बलियो बनेको छ।

बुधबार १२ कात्तिक २०८३ ०७:१६ PM मा प्रकाशित

प्रतिक्रिया