काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो । अघिल्ला दुई संस्करणमा चुकेको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि उचाल्न सफल भएको हो ।
उपाधिसँगै सुदूरपश्चिम रोयल्सले १ करोड ५० लाख रुपैयाँ नगद पुरस्कार हात पारेको छ भने उपविजेतामा सीमित लुम्बिनी लायन्सले ८० लाख रुपैयाँमा चित्त बुझाएको छ ।
मन्सेको विष्फोटक शतक र एकतर्फी जित
लुम्बिनीले प्रस्तुत गरेको १५६ रनको मध्यम लक्ष्य सुदूरपश्चिमले मात्र १३.३ ओभरमा बिना कुनै विकेटको क्षतिमा पूरा गर्यो । सुदूरपश्चिमको सानदार जितमा विदेशी ओपनर जर्ज मन्सेले आक्रामक र कीर्तिमानी शतकीय इनिङ्स खेले । अविजित १२५ रन बनाएका मन्सेले १२ छक्का र ८ चौका प्रहार गरे । उनी एनपीएलको फाइनल खेलमा शतक प्रहार गर्ने पहिलो खेलाडी समेत बनेका छन् । अर्का ओपनर विनोद भण्डारी ३० रनमा अविजित रहँदै मन्सेलाई बलियो साथ दिए ।
लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले पहिलो ओभरमै १२ रन जोड्दै आक्रामक सुरुवात गरेको थियो । ३ ओभरमा २५ रन बनाएको सुदूरपश्चिमले पावरप्ले (६ ओभर) को समाप्तिमा बिना विकेटको क्षतिमा ६० रन जोड्दै खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लियो ।
इनिङ्सको ६.४ ओभरमा लुम्बिनीका सन्दीप जोराले क्याच छाडेपछि जीवनदान पाएका मन्सेले त्यसको भरपूर फाइदा उठाए । उनले २८ बलमा अर्धशतक पूरा गरे भने १० ओभरको समाप्तिमा टोलीको स्कोर ९० रन पुर्याए । आक्रामक लयलाई निरन्तरता दिँदै मन्सेले मात्र ४९ बलमा आफ्नो शतक पूरा गरी टोलीलाई ऐतिहासिक जित दिलाए ।
लुम्बिनीको मध्यम इनिङ्स
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रनको योगफल तयार पारेको थियो । सुदूरपश्चिमका बलर स्कट कुगलेइनले पहिलो ओभरमा मात्र १ रन खर्चिँदै लुम्बिनीलाई दबाबमा राखेका थिए ।
लुम्बिनीले २.१ ओभरमा पहिलो विकेटका रूपमा ओपनर आसिफ शेखलाई गुमायो । ४ बलमा १ रन बनाएका शेखलाई कुगलेइनले पभेलियन फर्काए । त्यस्तै, ५.३ ओभरमा अर्का ओपनर डार्सी शर्ट १८ बलमा २१ रन बनाएर सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीको बलमा आउट भए । पावरप्लेमा २ विकेट गुमाएर ३७ रन जोडेको लुम्बिनीको इनिङ्स कप्तान रोहित पौडेल र निरोशन डिकवेलाले सम्हाल्ने प्रयास गरे ।
आक्रामक ब्याटिङ गरिरहेका डिकवेला १७ बलमा २८ रन जोडेर आफ्नै देशका श्रीलंकन बलर थरिन्दु रत्नायकेको बलमा बोल्ड भए । १४ औँ ओभरको अन्तिम बलमा दिलिप नाथसँग तालमेल नमिल्दा कप्तान रोहित पौडेल ३१ बलमा ३० रन बनाएर रनआउट हुन पुगे । त्यसपछि आएका सन्दीप जोरा पनि ५ बलमा ४ रन जोड्दै सस्तैमा आउट भए ।
अन्तिमतिर दिलिप नाथ र अलि शेखले आक्रामक ब्याटिङ गर्दै लुम्बिनीलाई सम्मानजनक स्कोरसम्म पुर्याए । दिलिप नाथले अविजित ३९ रनको योगदान दिए भने विष्फोटक ब्याटिङ गरेका अलि शेखले मात्र १२ बलमा २ छक्का र २ चौकाको मद्दतले २४ रन जोडे ।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलेइनले २ विकेट लिए भने कप्तान दीपेन्द्र सिंह ऐरी, हेमन्त धामी र थरिन्दु रत्नायकेले समान १–१ विकेट हात पारे ।
प्रतिक्रिया