पोखरा । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले कांग्रेसले विगतमा अहिलेको भन्दा पनि कठिन राजनीतिक परिस्थितिको सामना गरेर अघि बढेको इतिहास रहेको बताएका छन्। शनिबार पोखरामा आयोजित गण्डकी प्रदेशको तेस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टी अहिले कठिन मोडमा रहे पनि विगतका चुनौती र संघर्षबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा जोड दिए।
अधिवेशनलाई कांग्रेसको ऐतिहासिक यात्राको निरन्तरताका रूपमा व्याख्या गर्दै डा. कोइरालाले पार्टीको गौरवशाली इतिहास र लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गरे। “अहिले पार्टी कठिन परिस्थितिमा छ, तर कांग्रेसले विगतमा अहिलेभन्दा अझ कठिन परिस्थितिको सामना गर्दै आएको छ,” उनले भने, “हरेक चुनौतीलाई चिर्दै लोकतन्त्रको रक्षा गर्दै अघि बढेको कांग्रेसको इतिहास छ।”
पार्टीभित्र विशेष महाधिवेशनको वैधानिकता र नेतृत्वको विषयलाई लिएर विवाद चर्किरहेका बेला आयोजित उक्त उद्घाटन समारोहमा बोल्ने अधिकांश नेताहरूले विशेष महाधिवेशन, पार्टीको आधिकारिकता र पछिल्लो राजनीतिक घटनाक्रमबारे आ–आफ्ना धारणा राखेका थिए।
विशेष महाधिवेशन अवैधानिक र पार्टी कब्जा गर्ने प्रयास भएको नेताहरूको टिप्पणी
समारोहमा सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन गर्न पाइने भए पनि त्यसका लागि पार्टीको विधानले तोकेको निश्चित प्रक्रिया पूरा हुनुपर्ने बताए। विशेष महाधिवेशनका लागि आवश्यक हस्ताक्षरको सनाखत भएको थियो वा थिएन भन्ने विषय महत्त्वपूर्ण रहेको उनको भनाइ थियो। सोही क्रममा उनले पछिल्लो हिंसात्मक घटनामा आफूलाई जेनजी युवाहरूले नभई नेपाली सेनाले उद्धार गरेको दाबी समेत दोहोर्याए।
नेता कृष्णप्रसाद सिटौलाले केन्द्रीय समितिको निर्णयबिना गरिएको विशेष महाधिवेशन अवैधानिक रहेको धारणा राखे भने नेता प्रकाशमान सिंहले पार्टीलाई विधि, विधान र लोकतान्त्रिक प्रक्रियाबाट सञ्चालन गर्नुपर्नेमा जोड दिए। यस्तै, नेता विमलेन्द्र निधिले संविधानलाई समयानुकूल बनाउन आवश्यक संशोधन गर्नुपर्ने बताए।
सहमहामन्त्री उमाकान्त चौधरीले कांग्रेस कमजोर हुँदा देशले प्राप्त गरेका राजनीतिक उपलब्धि गुम्ने जोखिम रहेको उल्लेख गर्दै पार्टी कब्जा गर्ने प्रयास भइरहेको आरोप लगाए। प्रवक्ता डा. प्रकाशशरण महतले शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेस नै पार्टीको मूलधार भएको दाबी गर्दै कांग्रेसलाई कमजोर बनाउने प्रयासले राष्ट्रियता र लोकतन्त्रलाई समेत कमजोर बनाउने बताए।
‘विध्वंसको आडमा सत्ता र पार्टी कब्जा गरियो’
सम्बोधनका क्रममा केन्द्रीय सदस्य एनपी साउदले विध्वंसको आडमा बालेनहरूले सत्ता र गगनहरूले पार्टी कब्जा गरेको टिप्पणी गरे। अर्का केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनमार्फत पार्टी विभाजन गराउने प्रयास भएको आरोप लगाए।
यस्तै, केन्द्रीय सदस्य गुरु बरालले राष्ट्रिय चुनौती सामना गर्न कांग्रेसका नेता तथा कार्यकर्ता इमानदार र जिम्मेवार हुनुपर्ने बताए भने केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले कांग्रेसले कसैको निगाहमा नभई विधि, विधान, संविधान र कानुनी प्रक्रियाका आधारमा आधिकारिकता प्राप्त गर्ने विश्वास व्यक्त गरे।
अधिवेशन उद्घाटन समारोहमा केन्द्रीय सदस्यहरू पुष्प पराजुली, सीता देवकोटा, रणबहादुर रावल, भूपेन्द्र राई तथा कोशी प्रदेशका महामन्त्रीलगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
प्रतिक्रिया