काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गगन थापा पक्षले पार्टीलाई षड्यन्त्रपूर्वक कब्जा गर्ने उद्देश्यले विशेष महाधिवेशन गरेको गम्भीर आरोप लगाएका छन्। पार्टीको इतर पक्षद्वारा आयोजित गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै देउवाले विगतमा आफू र आफ्नो परिवारमाथि भौतिक आक्रमण गर्ने व्यक्तिहरूलाई नै चुनावमा टिकट दिइएको दाबी गरेका हुन्।
सम्बोधनका क्रममा विगतको ‘जेनजी (Gen-Z) आन्दोलन’ का क्रममा आफूमाथि भएको आक्रमणको त्रासदीपूर्ण क्षण स्मरण गर्दै देउवाले ठुलो षड्यन्त्रअन्तर्गत आफूहरूको ज्यान लिने प्रयास भएको बताए। “यो काल आउनुपर्छ नत्र मरिन्न भन्ने कुरामा मलाई विश्वास छ,” देउवाले भावुक हुँदै भने, “त्यसबेला मेरी श्रीमती आरजु र मलाई मार्ने हिसाबको अवस्था सिर्जना गरिएको थियो। शरीरमा अझैसम्म त्यो आक्रमणको घाउ छ। नेपाली सेनाले बल्लतल्ल उद्धार गरेर उपचारका लागि लगेपछि मात्रै हामी बाँच्न सफल भयौँ।”
आन्दोलनका नाममा वास्तविक युवाहरू नभई ५० वर्षमाथिका व्यक्तिहरू प्रयोग भएर आफूमाथि आक्रमण गरेको देउवाको जिकिर छ। उनले वास्तविक जेनजी युवाहरूले त बरु आफूलाई जोगाउन खोजेको दृश्य फोटो र भिडिओमा देखिएको उल्लेख गर्दै भने, “जेनजीको नाममा ५० वर्षमाथिका व्यक्तिहरूले हामीलाई आक्रमण गरे, पिटे र ढुङ्गाले हाने। त्यहाँ धेरै ठुलो षड्यन्त्र रचिएको थियो।”
आफूमाथि ज्यान लिने गरी आक्रमण गर्ने र घरमा आक्रमण गर्न उक्साउनेहरूलाई नै पार्टीले पुरस्कृत गरेको भन्दै देउवाले कडा असन्तुष्टि व्यक्त गरे। “तैपनि चिन्ता नमान्ने केही साथीहरू देख्छु। ‘अब शेरबहादुरको घरमा आक्रमण गर्नुपर्छ’ भन्ने र मलाई झन्डै मार्ने मान्छेलाई नै चुनावमा टिकट दिइयो। यसबाट सबै कुरा स्पष्ट भइसकेको छ,” देउवाले भने।
पार्टीको विधान र लोकतान्त्रिक मूल्यमान्यता विपरीत षड्यन्त्रपूर्वक पार्टी कब्जा गर्ने नियतले विशेष महाधिवेशन आयोजना गरिएकाले आफू बाध्य भएर न्यायका लागि अदालतको ढोका ढकढक्याउन पुगेको समेत पूर्वसभापति देउवाले स्पष्ट पारे।
प्रतिक्रिया