×

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशङ्करबीच नयाँदिल्लीमा शिष्टाचार भेटवार्ता

images

नयाँदिल्ली । छिमेकी मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस जयशङ्करले आइतबार शिष्टाचार भेटवार्ता गरेका छन्।

नयाँदिल्लीस्थित होटल ताजमहलमा सम्पन्न उक्त भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध आयाम र द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार भेटवार्तामा विशेष गरी ‘कनेक्टिभिटी’, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा सहकार्य, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्ध विस्तारलगायतका महत्त्वपूर्ण विषयमा विचार विमर्श भएको थियो।

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह आइतबार अपराह्न नयाँदिल्ली आइपुगेका हुन्।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, निजी क्षेत्रका व्यवसायी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको छ।

नयाँदिल्ली बसाइका क्रममा प्रधानमन्त्री शाहले विभिन्न उच्चस्तरीय भेटघाट तथा औपचारिक कार्यक्रमहरूमा सहभागिता जनाउनेछन्। दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह भोलि मङ्सिर ७ गते सोमबार साँझ स्वदेश फर्कने कार्यतालिका रहेको छ।

आइतबार​ ७ मंसिर २०८३ ०८:३५ PM मा प्रकाशित

प्रतिक्रिया