×

छैटौँ एनपीएल ‘होम एन्ड अवे’ प्रणालीमा : आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

images

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठवटै फ्रेन्चाइज क्लबका लागि आफ्नै फ्लडलाइटसहितका आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् । शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले नेपाली क्रिकेटको पूर्वाधार विकाससम्बन्धी यो महत्त्वाकांक्षी योजना सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री शाहले एनपीएलको छैटौँ संस्करणदेखि प्रतियोगितालाई ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने लक्ष्यका साथ आठवटै टोलीका लागि घरेलु मैदान (होम ग्राउन्ड) निर्माण गर्न लागिएको स्पष्ट पारेका छन् । उनका अनुसार यी सबै क्रिकेट रंगशालाहरू नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ ।

कुन क्लबको कुन घरेलु मैदान ?
प्रधानमन्त्री शाहले सार्वजनिक गरेको विवरणअनुसार आठवटै क्लबका लागि निम्नानुसारका रंगशालाहरू निर्माण तथा स्तरोन्नति गरिनेछ :

  • सुदूरपश्चिम रोयल्स : फाप्ला क्रिकेट रंगशाला (निर्माण प्रक्रिया अघि बढिसकेको)
  • विराटनगर किंग्स : बैजनाथपुर क्रिकेट रंगशाला
  • लुम्बिनी लायन्स : सिद्धार्थ क्रिकेट रंगशाला
  • कर्णाली याक्स : सुर्खेत क्रिकेट रंगशाला
  • काठमाडौँ गुर्खाज : कीर्तिपुर क्रिकेट मैदान
  • पोखरा एभेन्जर्स : पोखरा क्रिकेट रंगशाला
  • जनकपुर बोल्ट्स : रामजानकी क्रिकेट रंगशाला
  • चितवन राइनोज : गौतमबुद्ध क्रिकेट रंगशाला

सुदूरपश्चिममा फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया यसअघि नै अघि बढिसकेको जानकारी दिँदै प्रधानमन्त्री शाहले आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु गरिने बताएका छन् ।

यसैबीच, तेस्रो संस्करणको एनपीएल उपाधि विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै प्रधानमन्त्री शाहले नेपाली क्रिकेटको व्यावसायिक विकास, विस्तार र खेलाडीहरूको प्रोत्साहनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार निर्माण गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध र तयार रहेको उल्लेख गरेका छन् ।

शनिबार ६ मंसिर २०८३ ०८:३६ PM मा प्रकाशित

प्रतिक्रिया