काठमाडौँ — ‘मिस युनिभर्स नेपाल २०२६’ को प्रतिष्ठित उपाधि प्रयासना गुरुङले जितेकी छन्। काठमाडौँको होटल सोल्टी क्राउन प्लाजामा आइतबार साँझ आयोजित भव्य ग्रान्ड फिनालेमा अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले यो वर्षको मुख्य ताज आफ्नो शिरमा पहिरिन सफल भएकी हुन्।
उपाधिसँगै २४ वर्षीया प्रयासना गुरुङले आगामी नोभेम्बर २४ मा पुएर्तो रिकोमा आयोजना हुने ‘मिस युनिभर्स २०२६’ को अन्तर्राष्ट्रिय मञ्चमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाएकी छन्। भैरहवाकी स्थायी बासिन्दा प्रयासना हाल बेलायतमा रहँदै आएकी छन् र उनी महिला सशक्तिकरणकी अभियन्ताका रूपमा समेत सक्रिय छिन्।
सोही प्रतियोगिताको मञ्चबाट झापाकी बिनिता ओलीले ‘मिस अर्थ नेपाल २०२६’ को उपाधि चुमेकी छन्। पूर्व क्याबिन क्रु (एअर होस्टेस) समेत रहेकी तथा मनोविज्ञान (Psychology) की विद्यार्थी बिनिताले अब फिलिपिन्सको मनिलामा आयोजना हुने ‘मिस अर्थ २०२६’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्। उनले आफ्नो प्लेटफर्ममार्फत मानसिक स्वास्थ्य सचेतना (Mental Health Awareness) को क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएकी छन्।
ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा भएको यस वर्षको प्रतियोगिताका लागि देशभरबाट ११० जना सुन्दरीहरूले आवेदन दिएका थिए। तीमध्ये विभिन्न चरण पार गर्दै अन्तिम १४ जना प्रतिस्पर्धीहरू ग्रान्ड फिनालेको स्टेजमा पुगेका थिए।
प्रतियोगिताको मुख्य निर्णायकको भूमिकामा बलिउडकी प्रसिद्ध अभिनेत्री तथा पूर्व ‘मिस युनिभर्स इन्डिया’ सेलीना जेटली रहेकी थिइन्। फिनालेमा प्रतियोगीहरूको बौद्धिकता, आत्मविश्वास र स्टेज प्रस्तुतिको कडा मूल्याङ्कन पछि अन्तिम निर्णय सार्वजनिक गरिएको थियो।
गत वर्षकी विजेता सान्या अधिकारीले नयाँ मिस युनिभर्स नेपाल प्रयासना गुरुङलाई क्राउन (ताज) हस्तान्तरण गरेकी थिइन्। उपाधि जितेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै विजेताहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा र नेपाली संस्कृतिलाई उत्कृष्ट ढङ्गले प्रस्तुत गर्ने दृढता व्यक्त गरेका छन्।
प्रतिक्रिया