काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विश्व शान्ति स्थापनाका लागि नोबेल शान्ति पुरस्कारको हकदार भएको दाबी गरेका छन्। तर, राजनीतिक पूर्वाग्रहका कारण आफूले उक्त पुरस्कार पाउनेमा भने शंका व्यक्त गरेका छन्।
एक कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो कार्यकालमा भएका वैदेशिक नीति, विशेषगरी मध्यपूर्वमा सम्पन्न ऐतिहासिक ‘अब्राहम सम्झौता’ (Abraham Accords) र नयाँ युद्धहरू रोक्न खेलेको भूमिकाको प्रशंसा गर्दै आफू नोबेल पुरस्कारका लागि पूर्ण रूपमा योग्य रहेको बताएका हुन्।
आफूले अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भए पनि पुरस्कार छनोट समिति निष्पक्ष नरहेको आरोप लगाउँदै उनले भने, "मैले विश्वमा धेरै युद्धहरू रोकेको छु र धेरै जीवन बचाएको छु। त्यसैले म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर मलाई यो दिइन्छ भन्नेमा मलाई पूर्ण शंका छ।"
ट्रम्पले विगतमा पनि अन्तर्राष्ट्रिय द्वन्द्व समाधानमा आफ्नो भूमिकाको उचित मूल्याङ्कन नभएको भन्दै नोबेल समितिको आलोचना गर्दै आएका छन्। उनको यो अभिव्यक्तिपछि फेरि एकपटक अन्तर्राष्ट्रिय राजनीति र नोबेल पुरस्कारको निष्पक्षताबारे बहस सुरु भएको छ।
प्रतिक्रिया