जेरुसेलम, २२ कात्तिक । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले पूर्व सैन्य प्रमुख एवं मध्यमार्गी विपक्षी दलका नेता गादी आइजेनकोटलाई देशको नयाँ गठबन्धन सरकार गठनका लागि औपचारिक जिम्मेवारी दिएका छन् । गत अक्टोबर २७ मा सम्पन्न निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दक्षिणपन्थी ब्लक र विपक्षी ब्लक दुवैले बहुमत जुटाउन नसकेपछि सिर्जना भएको राजनीतिक गतिरोध अन्त्यका लागि राष्ट्रपतिले यो कदम चालेका हुन्।
नयाँ सरकार गठनका लागि आइजेनकोटले प्रारम्भिक रूपमा २८ दिनको समयसीमा पाएका छन् । यदि सो अवधिमा उनले आवश्यक गठबन्धन बनाउन सकेनन् भने राष्ट्रपतिको स्वविवेकमा थप १४ दिनको समय उपलब्ध गराउन सकिने कानुनी प्रावधान छ।
संसद्को गणित र राष्ट्रपतिको विशेषाधिकार
इजरायलको १२० सदस्यीय संसद् (नेसेट) मा बहुमतका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ । निर्वाचन परिणाम अनुसार :
संसद् सदस्यहरूको सिफारिसका आधारमा आइजेनकोटले प्रधानमन्त्रीका लागि ६७ जनाको र नेतान्याहुले ४६ जनाको समर्थन (सिफारिस) प्राप्त गरेका थिए । इजरायली कानुन अनुसार राष्ट्रपतिलाई सबैभन्दा बढी सिट जित्ने दलको नेतालाई नै सरकार गठनको जिम्मेवारी दिनुपर्ने बाध्यता हुँदैन । राष्ट्रपतिसँग संसद्मा गठबन्धन बनाउन सक्ने बलियो सम्भावना भएको उपयुक्त पात्रलाई छनोट गर्ने विशेषाधिकार हुन्छ र सोही अनुसार उनले आइजेनकोटलाई रोजेका हुन् ।
'राष्ट्रिय सङ्कटकालीन सरकारको समय'
सरकार गठनको जिम्मेवारी पाएलत्तै आइजेनकोटले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै इजरायललाई एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले लेखेका छन्, “अहिले राष्ट्रिय सङ्कटकालीन सरकार गठन गर्ने समय हो। देशलाई स्थिर सरकार दिन र संसद्मा विश्वासको मत प्राप्त गर्न म आफ्नोतर्फबाट सबै प्रयास गर्नेछु ।”
इजरायलको राजनीतिक इतिहासमा हालसम्म कुनै पनि दलले एक्लै स्पष्ट बहुमत ल्याउन सकेका छैनन्, जसका कारण त्यहाँ सधैँ गठबन्धन सरकार नै बन्ने गरेको छ। आइजेनकोटले २८ दिनभित्र ६१ सांसदको समर्थन जुटाउन नसकेमा राष्ट्रपतिले दोस्रो व्यक्तिलाई अवसर दिनेछन् र त्यसमा पनि सरकार बन्न नसके इजरायल पुनः नयाँ निर्वाचनमा धकेलिनेछ ।
प्रतिक्रिया