चितवन, २३ कात्तिक । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सडकमाथिबाट सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ५ बजे खसेको पहिरोका कारण राजमार्गमा गुड्ने सवारीसाधनहरू बीच बाटोमै रोकिएका छन् र दुवैतर्फको यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ।
पहिरो ठुलो खसेकाले राजमार्ग खुलाउनका लागि डिभिजन सडक कार्यालय र प्रहरीको संयुक्त टोली आवश्यक उपकरण (जेसीबी/लोडर) सहित कार्यस्थलमा परिचालन भइसकेको छ।
प्रहरीका अनुसार यसअघि आइतबार पनि सोही स्थानमा सुक्खा पहिरो खसेर राजमार्ग केही समय अवरुद्ध बनेको थियो। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि पुनः सोही ठाउँमा पहिरो खसेपछि यात्रुहरू अलपत्र परेका छन्। लगातार पहिरो खस्ने क्रम नरोकिएकाले सो क्षेत्र भएर यात्रा गर्दा विशेष सजगता अपनाउन र बैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले आम यात्रु तथा चालकहरूलाई आग्रह गरेको छ।
प्रतिक्रिया