काठमाडौँ, २४ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को जारी संस्करणमा आज मंगलबार साँझ ५ बजे तेस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र पाँचौँ स्थानमा रहेको जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्। कीर्तिपुर मैदानमा आयोजना हुने यस खेलमा जित निकाल्दै सुदूरपश्चिम प्लेअफको स्थान थप मजबुत बनाउने लक्ष्यका साथ मैदान उत्रनेछ भने जनकपुरका लागि प्लेअफको आशा जीवितै राख्न यो खेल जित्नैपर्ने दबाब छ ।
सुदूरपश्चिमको बलियो स्थिति
दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सले जारी प्रतियोगितामा मिश्रित तर सन्तोषजनक प्रदर्शन गरेको छ । सुदूरपश्चिमले हालसम्म खेलेका ५ खेलमध्ये ३ मा जित हात पारेको छ भने २ खेलमा हार ब्यहोरेको छ । ६ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा रहेको सुदूरपश्चिम आजको खेल जितेर ८ अङ्क सहित शीर्ष चारको बलियो दाबेदार बन्ने दाउमा छ। लगातार पछिल्ला दुई खेल जितेकाले टोली उच्च मनोबलका साथ मैदानमा ओर्लिनेछ।
जनकपुरका लागि 'कर या मर' को अवस्था
अर्कोतर्फ, अनिल साहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सका लागि यो खेल निकै चुनौतीपूर्ण रहनेछ। ५ खेलबाट मात्र ४ अङ्क जोडेर तालिकाको पाँचौँ स्थानमा खुम्चिएको जनकपुरका लागि प्लेअफको सम्भावना बलियो बनाउन आजको खेलमा जित अत्यावश्यक छ। लगातार दुई खेलमा पराजय भोगेको जनकपुर आजको खेलमार्फत आफ्नो पराजयको शृङ्खला तोड्दै प्रतियोगितामा कमब्याक गर्ने दाउमा छ ।
हेड-टु-हेड इतिहास र आजका सारथीहरू
एनपीएलको इतिहासमा यी दुई टोलीबीच हालसम्म ४ पटक भेट भइसकेको छ, जसमा सुदूरपश्चिम रोयल्सले ३ खेल जितेर ऐतिहासिक दबदबा कायम राखेको छ भने जनकपुर बोल्ट्सले १ खेल मात्र आफ्नो पक्षमा पार्न सकेको छ।
आजको खेलमा सुदूरपश्चिमका लागि स्कट कुगेलेइन, शेरफेन रथरफोर्ड, आरिफ शेख, बिनोद भण्डारी र ब्रान्डन म्याकमुलेन जस्ता खेलाडी मुख्य हतियार बन्नेछन् । यस्तै, जनकपुरका तर्फबाट मोईन अली, जेम्स निशम, कुशल परेरा र ललित राजवंशी जस्ता अनुभवी खेलाडीहरूले मैदान सम्हाल्नेछन् । इतिहास र हालको लयले सुदूरपश्चिमलाई केही बलियो देखाए पनि जनकपुरको टोली जुनसुकै बेला खेल पल्टाउन सक्षम रहेकाले कीर्तिपुरमा आजको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने क्रिकेट विश्लेषकहरूको अनुमान छ।
प्रतिक्रिया