काठमाडौं। नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमले सफाइ पाएका छन्। बम विस्फोट गरी व्यक्ति हत्याको आरोपमा जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आलमलाई उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो।
उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई सफाइ दिएको हो।
२०६४ सालको संविधान सभा निर्वाचनको अघिल्लो दिन २७ चैतको साँझ करिब ६ बजे बम बनाइरहेको घरमा विस्फोट भएको थियो। उक्त विस्फोटमा घाइते भएका पाँचजनालाई इटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेका थिए।
आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो। तर, त्यतिबेला उनीमाथी अनुसन्धान नै भएन। यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भयो। सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गर्दै अनुसन्धान गर्न भनेपछि २०७६ मा प्रहरीले पक्राउ गरेको थियो।
त्यसपछि जिल्ला अदालतले उनलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसविरुद्धको निवेदनमा उच्च र सर्वोच्चले पनि सदर गरेको थियो र आलम नख्खुस्थित कारागारमा थिए। लामो समयपछि जिल्ला अदालत रौतहटले मुद्दाको फैसला गर्दै जन्मकैद हुने फैसला गरेको थियो। उक्त फैसलाविरुद्ध उच्च गएका आलमलाई उच्चले भने सफाइ दिएको हो।
प्रतिक्रिया