×

महाधिवेशन विधि र संविधान सम्मत् छ, सामाजिक सञ्जालको होहल्लाको पछि नलागौँ: विश्वप्रकाश शर्मा

images

काभ्रेपलाञ्चोक, २१ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सम्पूर्ण प्रक्रियाहरू विधि, विधान, पद्धति र संविधानअनुसार इमानदारीपूर्वक सम्पन्न भएको दाबी गर्नुभएको छ। नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिद्वारा आयोजना गरेको एक विशेष कार्यक्रममा बोल्दै नेता शर्माले लाखौँ महाधिवेशन प्रतिनिधिहरूको ठुलो योगदान र सहभागिताबाट सम्पन्न लोकतान्त्रिक प्रक्रियामाथि शृङ्खलाबद्ध प्रहार भइरहेको बताउनुभयो।

पछिल्लो समय पार्टीको महाधिवेशन र नेतृत्वलाई जोडेर बाहिरिएका विभिन्न टिकाटिप्पणीप्रति लक्षित गर्दै उहाँले पार्टीको छवि धमिल्याउन कृत्रिम भाष्य निर्माण गर्न खोजिएको आरोप लगाउनुभयो।

बिचौलियाको हल्लाका भरमा कुद्न नहुने तर्क

पार्टीको आधिकारिकता सम्बन्धी विवादमा महामन्त्री गगन थापामाथि बिचौलियासँग मिलेर १८ करोड रुपैयाँ लेनदेन र चलखेल गरेको भन्दै सामाजिक सञ्जालमा लागेको आरोपप्रति वरिष्ठ उपसभापति शर्माले कडा आपत्ति जनाउनुभयो। केही व्यक्तिले लगाएका मनगढन्ते आरोपकै आधारमा कुनै निष्कर्षमा पुग्न नहुने र सामाजिक सञ्जालमा फैलिएको हल्लाकै भरमा विश्वास गर्न नहुने उहाँको भनाइ छ।

महामन्त्री थापामाथि लागेको आरोपबारे प्रश्न उठाउँदै नेता शर्माले भन्नुभयो, “एउटा बिचौलियाले कहीँ भन्यो अरे भन्दैमा त्यसलाई अदालतले मान्छ कि मान्दैन? कानुनले मान्छ कि मान्दैन? सामाजिक सञ्जालका मान्छे त्यसैको होहल्लामा कुद्नु हुन्छ कि हुँदैन? हामीले विधिको शासन र प्रमाणलाई विश्वास गर्नुपर्छ।”

गगन थापाको नेतृत्व र आगामी योजना

वरिष्ठ उपसभापति शर्माले नेपाली कांग्रेस अब महामन्त्री गगन थापाको विचार, योजनाबद्ध ढङ्ग र परिवर्तनको हुटहुटीका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। देश र समाजका लागि स्पष्ट सपना र परिवर्तनको तीव्र इच्छाशक्ति बोकेका गगन थापा जस्ता युवा नेताहरूलाई अघि सारेर पार्टीलाई नयाँ वैचारिक दिशामा लैजानुपर्ने उहाँको तर्क थियो।

यसैगरी, केन्द्रीय समितिमा रहेका सम्पूर्ण नेताहरू पार्टीका आन्तरिक गतिविधि, सङ्गठन सुदृढीकरण र आगामी चुनावी एवं राजनीतिक योजनालाई व्यवस्थित रूपमा अघि बढाउन पूर्ण रूपमा प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो। कुनै पनि विषयमा हतार नगरी गम्भीर अध्ययन, मेहनत र आन्तरिक संवादका माध्यमबाट मात्रै पार्टीलाई परिपक्व ढङ्गले अघि बढाउन सकिने धारणा उहाँले व्यक्त गर्नुभयो।

शनिबार २२ कात्तिक २०८३ ०४:४३ PM मा प्रकाशित

प्रतिक्रिया