काठमाडौँ, २२ कात्तिक । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज आइतबार देशभरि कुकुर तिहार पर्व मनाइँदै छ। वैदिक सनातन हिन्दु परम्परामा कुकुरलाई बफादार, साहसी र सुरक्षाको प्रतीकका रूपमा सम्मान गर्दै आजका दिन विशेष पूजाआराधना गर्ने गरिन्छ।
आजको दिन बिहानै स्नान तथा नित्यकर्मपछि घरमा पालिएका तथा सडकमा रहेका कुकुरहरूलाई समेत माला लगाइदिने, निधारमा अबिरको टीका लगाउने र उनीहरूलाई मनपर्ने मीठा-मीठा परिकारहरू खुवाएर पूजा गर्ने परम्परा छ।
धार्मिक र वैदिक पृष्ठभूमि
ऋग्वेदमा उल्लेख गरिएकी 'सरमा' लाई कुकुरहरूको आमा मानिन्छ, जसले स्वर्गका राजा इन्द्रलाई हराएको वस्तु पत्ता लगाउन सहयोग गरेकी थिइन्। धार्मिक विश्वासअनुसार कुकुरलाई यमराजको दूत तथा परलोक यात्राको पहरेदारका रूपमा लिइन्छ। मृत्युपछि यमलोकको कठिन यात्रामा समेत कुकुरले मानवलाई सहयोग गर्ने र आजको दिन कुकुरलाई पूजा गरी खाना खुवाउँदा पुण्य प्राप्त हुनुका साथै यमराजको भयबाट मुक्ति पाइने धार्मिक विश्वास रहिआएको छ।
'मानिस फटाहा हुन सक्छ, तर कुकुर सधैँ बफादार हुन्छ'
नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शालिग्राम ढकालका अनुसार कुकुर तिहारले मानिसलाई बफादारिता, निष्ठा र सुरक्षाको महत्त्व बुझाउने गम्भीर धार्मिक तथा सांस्कृतिक सन्देश दिन्छ।
उपप्राध्यापक ढकाल भन्नुहुन्छ, “मानिस फटाहा हुन सक्छ, तर कुकुर आफ्नो बफादारिताबाट कहिल्यै पछाडि हट्न सक्दैन। मानिस भएर पनि म त्यति बफादार हुन सकिनँ, बरु कुकुरको त्यो गुण ममा पनि आओस् भन्ने पवित्र भावनाबाट समेत यसको पूजा गर्ने धार्मिक अर्थ रहन्छ।” अपरिचित व्यक्ति आउँदा भुकेर घरपरिवारलाई सचेत गराउने कुकुरको स्वभावले समाजमा यसको सुरक्षात्मक भूमिका कति उच्च छ भन्ने दर्शाउँछ।
मानव, प्रकृति र जीवजन्तुको सम्बन्ध बुझाउने तिहार
पाँच दिनसम्म मनाइने तिहार (यमपञ्चक) को अवधिमा काग, कुकुर, गाई, गोरु तथा दाजुभाइको पूजा गर्ने परम्परा छ। मानव, जीवजन्तु, प्रकृति र पारिवारिक आत्मीय सम्बन्धलाई एकीकृत रूपमा महत्त्व दिने भएकाले नै तिहारलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष र विशिष्ट पर्वका रूपमा लिइन्छ।
प्रतिक्रिया