काठमाडौँ, २२ कात्तिक । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले महान् चाड तिहारको अवसरमा विगतको भयावह लोडसेडिङको अवस्थालाई स्मरण गर्दै अब देशमा व्याप्त बेथिति, भ्रष्टाचार, अन्याय र निराशाको अन्धकार हटाउन सामूहिक संकल्पको आवश्यकता औँल्याउनुभएको छ। तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष घिसिङले देशको उड्डयन र ऊर्जा क्षेत्रको रूपान्तरणको यात्रालाई स्मरण गर्नुभएको हो।
घिसिङले वि.सं. २०७३ सालअघिका ती अँध्यारा दिनहरू सम्झिँदै भन्नुभएको छ, “त्यसबेला उज्यालोको महापर्व तिहारसमेत अन्धकारमा मनाउनुपर्ने आम नेपालीको बाध्यता थियो।”
जनविश्वासले सम्भव भयो लोडसेडिङ अन्त्य
नागरिकहरूको अटुट साथ, विश्वास र दृढ संकल्पका कारण तत्कालीन समयमा असम्भव जस्तै मानिएको लोडसेडिङ अन्त्य गर्न आफूहरू सफल भएको घिसिङले उल्लेख गर्नुभएको छ। उहाँले अहिले देशका अधिकांश घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुर्याइएको र नेपाली बिजुली स्वदेशमा खपत भई विदेशसम्म निर्यात हुन थालेको गौरवपूर्ण अवस्थाको चर्चा गर्नुभयो।
विगतको लोडसेडिङ अन्त्यको सफलतालाई वर्तमानको सामाजिक बेथितिसँग जोड्दै उहाँले भन्नुभएको छ:
“हिजो हामीले बिजुलीको अँध्यारो हटायौँ, अब देशमा व्याप्त बेथिति, भ्रष्टाचार, अन्याय र निराशाको अँध्यारो हटाउने संकल्प छ।”
'अँध्यारोलाई सरापेर मात्र हुन्न, आफैँ दीप बन्नुपर्छ'
प्रशासनिक र नीतिगत क्षेत्रमा जतिसुकै चुनौती र व्यवधानहरू आए पनि सुशासन र समृद्धिको यात्रा कत्ति पनि नरोकिने दृढता घिसिङले व्यक्त गर्नुभएको छ। अँध्यारो परिस्थितिलाई सरापेर वा गुनासो मात्र गरेर बस्नुभन्दा सकारात्मक परिवर्तनका लागि आफैँ दीप बनेर उज्यालो फैलाउन सम्पूर्ण नागरिक अग्रसर हुनुपर्ने धारणा उहाँले राख्नुभयो।
विगतमा नेपाली जनताबाट प्राप्त अगाध साथ र विश्वासप्रति हार्दिक आभार व्यक्त गर्दै उहाँले देशमा सुशासन, सामाजिक न्याय र समृद्ध नेपाल निर्माणको बृहत्तर अभियानमा पनि नागरिकको उत्तिकै रचनात्मक साथ र सहयोगको अपेक्षा गर्नुभएको छ। “हरेक घरमा खुसी, हरेक मनमा आशा र हरेक नेपालीको जीवनमा समृद्धिको उज्यालो छाओस्,” घिसिङले शुभकामना सन्देशको अन्त्यमा भन्नुभएको छ।
प्रतिक्रिया