ईसञ्चारपाटी समाचारदाता
धादिङ, ४ साउन
धादिङ — लगातारको अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा मुग्लिन–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। चितवन र धादिङको सीमा क्षेत्रमा पहिरो झरेपछि सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङ र चितवनका अनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलामा दुई ठाउँमा र चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ क्षेत्रमा ठूलो पहिरो खसेको छ।
पहिरोका कारण मुग्लिन–काठमाडौँ सडकखण्डमा सवारी साधनको लामो लाइन लागेपछि प्रहरीले विभिन्न नाकाहरूमा गाडीहरूलाई होल्ड गरेको छ। धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालका अनुसार सम्भावित जोखिम टार्न र सडकको चाप व्यवस्थापन गर्न सवारी साधनहरूलाई काठमाडौँको नागढुंगा, धादिङको सिम्ले र चितवनको कुरिनटार क्षेत्रमा रोकिएको छ।
नागढुंगा नाकाबाट बाहिरिने र उपत्यका भित्रिने गाडीहरूलाई नाकामै होल्ड गरिएपछि यात्रुहरू समस्यामा परेका छन्। पहिरो प्रभावित क्षेत्रमा डोजर तथा हेभी इक्विपमेन्ट परिचालन गरी ढुङ्गा–माटोसहितको लेदो पन्छाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ। तर, वर्षा निरन्तर भइरहेकाले र माथिबाट फेरि पहिरो खस्ने जोखिम रहेकाले सडक पूर्ण रूपमा खुलाउन अझै केही घण्टा लाग्ने अनुमान गरिएको छ।
प्रहरीले नारायणगढ–मुग्लिन–पोखरा सडकखण्ड भने हाल खुला रहेको जनाएको छ। मुग्लिन–काठमाडौँ खण्डमा यात्रा गर्ने यात्रुहरूलाई सडकको ताजा अवस्था बुझेर मात्र यात्रा तय गर्न र धैर्यता अपनाउन प्रशासनले आग्रह गरेको छ।
सडक र मौसमसम्बन्धी पलपलको अपडेटका लागि esancharpati.com हेर्दै गर्नुहोला।
प्रतिक्रिया