×

मधेस सरकार गठनका लागि दलहरूसँग सघन संवाद भइरहेको छ : संयोजक प्रचण्ड

images

महोत्तरी, १६ कार्तिक — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस प्रदेश सरकार गठनका विषयमा विभिन्न राजनीतिक दलहरूबीच सघन छलफल र संवाद भइरहेको बताएका छन्।

पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा भाग लिन बर्दिबास पुगेका संयोजक दाहालले आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै दलहरूबीच विभिन्न विकल्प खुला राखेर छलफल भइरहेको स्पष्ट पारेका हुन्।

“हामी लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दल मधेस सरकारको स्थायित्वका लागि सघन छलफलमा छौं, अब चाँडै यसबारे निष्कर्षमा पुग्नेछौं,” संयोजक दाहालको भनााइ छ।

लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरूबीच सहकार्य, समन्वय र आपसी सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले आफ्नो दलले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिरहेको उनले बताए। यो अभियान मुख्यतः पार्टीको आन्तरिक साङ्गठनिक काम व्यवस्थित गर्न केन्द्रित रहेको बताउँदै उनले यसैको धरातलबाट गणतन्त्र पक्षधर शक्तिहरूसँगको सम्बन्ध अझ प्रगाढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

 यसैबीच, नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय जागरण अभियानअन्तर्गत आज महोत्तरीको बर्दिबासमा मधेस प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।

पार्टीका मधेस प्रदेश इञ्चार्ज राजु खड्काका अनुसार उक्त कार्यक्रममा मधेसभरिका पार्टी केन्द्रीय सदस्यहरू, मधेस प्रदेश कमिटीका पदाधिकारीहरू तथा विभिन्न जिल्लाका अध्यक्ष र संयोजकहरूको सहभागिता रहेको छ। बर्दिबासमा आयोजित उक्त महत्त्वपूर्ण कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपालसमेत सहभागी रहेको जनाइएको छ।

सोमबार १७ कात्तिक २०८३ ११:४३ AM मा प्रकाशित

प्रतिक्रिया