×

सञ्चारगृहमा हस्तक्षेप र १८ करोड लेनदेन चर्चाको पृष्ठभूमिमा गगन र बालेनबीच 'डिजिटल वार'

images

काठमाडौँ (ई-सञ्चारपाटी) । नेपाली कांग्रेसका सभापति गगन थापाले कसैको धम्की वा त्रासबाट आफू अविचलित रहने स्पष्ट पार्दै 'तर्सिने बानी नपरेको' कडा टिप्पणी गरेका छन्। कांग्रेसको आधिकारिकता विवादमा बिचौलियासँग १८ करोड रुपैयाँ लेनदेन भएको चर्चा र प्रधानमन्त्री बालेन शाहको चेतावनीयुक्त स्ट्याटसको पृष्ठभूमिमा सभापति थापाको यो जवाफ आएको हो।

सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक संक्षिप्त तर आक्रामक पोस्ट लेख्दै सभापति थापाले भनेका छन्, ‘अहिले ठीक १८ः०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन ।’

प्रधानमन्त्री बालेन शाहको स्टाटसको काउन्टर
यसअघि आइतबार प्रधानमन्त्री बालेन शाहले गलत काम गर्नेहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा चेतावनीपूर्ण स्ट्याटस लेखेका थिए। बालेनले लेखेका थिए, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’ प्रधानमन्त्री शाहको उक्त पोस्ट सार्वजनिक भएको भोलिपल्टै ठीक १८:०० बजे (६ बजे) समय नै उल्लेख गरेर थापाले लेखेको स्ट्याटस प्रधानमन्त्री बालेन शाहप्रति नै लक्षित रहेको राजनीतिक वृत्तमा अनुमान गरिएको छ।

विषयान्तर गर्न खोजिएको कांग्रेसको दाबी
पार्टीको आधिकारिकता विवादलाई बिचौलियासँग जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै यसअघि नै सभापति थापाको सचिवालयले विज्ञप्ति जारी गरेर कडा आपत्ति जनाइसकेको छ। सरकारले सञ्चारगृहमाथिको प्रहरी हस्तक्षेप र आफ्ना विवादित गतिविधिहरूबाट जनताको ध्यान अन्तै मोड्न (विषयान्तर गर्न) सभापति थापामाथि नियोजित आरोप लगाएको कांग्रेसको ठहर छ। थापाको सचिवालयले यस्ता खाले राजनीतिक षड्यन्त्रको डटेर प्रतिवाद गर्ने चेतावनी समेत दिएको छ।

सञ्चारगृहमा प्रहरी परिचालन, पत्रकार धरपकड र सुशासनका नाममा शीर्ष नेताहरूबीच सामाजिक सञ्जालमा सुरु भएको यो ‘डिजिटल वार’ ले मुलुकको राजनीति थप गर्माएको छ।

सोमबार १७ कात्तिक २०८३ ०८:२९ PM मा प्रकाशित

प्रतिक्रिया