काठमाडौं। देशमा विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय तथा सामाजिक–आर्थिक रूपान्तरणमार्फत समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्ने उद्देश्यसहित दुई कम्युनिष्ट घटकबीच पार्टी एकता भएको छ।
बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण र ध्रुवीकरणलाई अघि बढाउने आवश्यकतालाई मध्यनजर गर्दै नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी एकता तथा संगठनात्मक समायोजनसम्बन्धी महत्त्वपूर्ण सहमतिपत्रमा हस्ताक्षर भएको हो।
एकता सहमतिअनुसार एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ रहनेछ भने चुनाव चिह्न ‘पाँचकुने तारा’ तय गरिएको छ। नयाँ पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहने र नेपाली क्रान्तिको मूल कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने सहमति भएको छ।
त्यस्तै, तत्कालीन राजनीतिक कार्यनीतिका रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासनको प्रत्याभूति तथा आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार गर्ने लक्ष्य निर्धारण गरिएको छ।
सहमति पत्रमा आन्दोलनको स्वरूप मूलतः शान्तिपूर्ण रहने उल्लेख गरिएको छ। यद्यपि समय र परिस्थितिको आवश्यकताअनुसार सडक, संसद् र सरकारलगायत सबै मोर्चालाई आन्दोलनका रूपमा उपयोग गर्न सकिने नीति अवलम्बन गर्ने सहमति भएको छ।
स्थानीय निर्वाचनपछि एकता राष्ट्रिय महाधिवेशन
संगठनात्मक संरचनाका विषयमा आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरिएको छ।
त्यसैगरी, केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय तथा केन्द्रीय कार्य संयोजन समितिलगायत पार्टीका सबै तहका समिति र जनसंगठनहरूमा आपसी सहमतिका आधारमा संगठनात्मक समायोजन गरिने भएको छ। उक्त समायोजनको काम आगामी मंसिर मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सहमतिपत्रमा उल्लेख छ।
पार्टीका विभिन्न समितिहरूको सञ्चालन जनवादी केन्द्रीयताको सिद्धान्त तथा स्पष्ट विधि र पद्धतिअनुसार गरिने जनाइएको छ।
विचारगत मतभेद महाधिवेशनबाट टुंग्याइने
एकता प्रक्रियासँगै सिद्धान्त, विचार तथा विगतका राजनीतिक गतिविधि र समीक्षाका विषयमा रहेका फरक मतहरूलाई पनि निरन्तर छलफलमार्फत समाधान गर्दै जाने सहमति भएको छ।
यस्ता वैचारिक तथा सैद्धान्तिक विषयमा अन्तिम निष्कर्ष भने पार्टीको एकता राष्ट्रिय महाधिवेशनबाट निकालिने सहमतिपत्रमा उल्लेख गरिएको छ।
यस एकतासँगै कम्युनिष्ट आन्दोलनलाई एकीकृत र थप सुदृढ बनाउने, संगठनात्मक संरचनालाई व्यवस्थित गर्ने तथा समाजवादी राजनीतिक लक्ष्य हासिल गर्न साझा राजनीतिक अभियान अघि बढाउने उद्देश्य लिइएको देखिन्छ।
प्रतिक्रिया