×

पत्रकार धरपकड र सरकारका विवादित गतिविधि छानबिन गर्न संसदीय विशेष समिति गठन गर्नुपर्छ : नेपाली कांग्रेस

images

काठमाडौं — नेपाली कांग्रेसले पत्रकारमाथिको धरपकड लगायत सरकारका सबै विवादित गतिविधिहरूको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्नुपर्ने माग गरेको छ। सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकको निर्णयबारे जानकारी दिँदै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारका हालैका गतिविधिहरूले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको बताए।

नेता आङ्देम्बेले पत्रकार धरपकड र यससँग जोडिएका सरकारी सबै विवादित गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्नेमा जोड दिए। उनले भने, "नेपाली कांग्रेस पत्रकार धरपकड लगायत यससँग जोडिएका सरकारी सबै विवादित गतिविधिको स्वतन्त्र निष्पक्ष पारदर्शी छानबिन हुनुपर्दछ। दोषीलाई कानुनी कारबाही गर्नुपर्दछ। यसका लागि संसदीय विशेष समिति गठन गर्नुपर्दछ।"

पत्रकार पक्राउको स्पष्ट कानुनी आधार, पुर्जी वा अदालतको अनुमतिसमेत सार्वजनिक नगरी सिधै समाचार कक्षमा प्रहरी परिचालन गरिएकोप्रति कांग्रेस संसदीय दलले गम्भीर आपत्ति जनाएको छ। नेता आङ्देम्बेले यसलाई स्वतन्त्र पत्रकारितामाथिको अनुचित दबाब र सरकारको स्वेच्छाचारिताको संज्ञा दिएका छन्।

"पत्रकार धरपकड लगायतका घटनाप्रति कांग्रेस संसदीय दल आपत्ति प्रकट गर्दछ," उनले भने, "साथै पत्रकार पक्राउको स्पष्ट कानुनी आधार पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गरिनुले स्वतन्त्र पत्रकारितामाथि अनुचित दबाब मात्र होइन विधिको शासन विपरीत हो। स्वेच्छाचारिता हो। यसको जवाफ सरकारले दिनुपर्छ।"

जनसरोकारका विषय र सुशासनका सन्दर्भमा सरकारले गर्ने सही कार्यमा कांग्रेसको रचनात्मक समर्थन रहने तर लोकतन्त्र, विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणका मूल्य-मान्यता विपरित सरकार गएमा सशक्त प्रतिवाद गर्ने कांग्रेसको ठहर छ।

न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण राख्नुपर्नेमा जोड दिँदै उनले वर्तमान सरकारमा "जे गरे पनि हुन्छ, जवाफ दिनु पर्दैन" भन्ने मानसिकता हाबी हुँदै गएको आरोप लगाए। कांग्रेसले सरकारका यी सबै घटनाहरूलाई मुलुकको संवैधानिक संरचना कमजोर बनाउँदै आफू अनुकूलको शासन स्थापित गर्ने सुनियोजित प्रयत्नको खतरनाक श्रृंखलाको रूपमा बुझेको छ।

सोमबार १७ कात्तिक २०८३ १२:११ PM मा प्रकाशित

प्रतिक्रिया