×

चितवन राइनोजको अपराजित यात्रामा सुदूरपश्चिमले लगायो पूर्णविराम, रोएल्सको दोस्रो जित

images

काठमाडौँ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा सुदूरपश्चिम रोएल्सले चितवन राइनोजलाई ५ विकेटले स्तब्ध पारेको छ। चितवनले प्रस्तुत गरेको १३० रनको मध्यम लक्ष्यलाई सुदूरपश्चिमले २० बल बाँकी छँदै १६.४ ओभरमा ५ विकेट गुमाएर १३१ रन बनाउँदै भेट्टायो। 

यो जितसँगै सुदूरपश्चिमले प्रतियोगितामा दोस्रो जित दर्ता गर्दै ४ खेलबाट ४ अंक जोडेको छ। पराजित चितवनको भने यो एनपीएलमा पहिलो हार हो। ३ खेल खेलिसकेको चितवनको ३ अंक छ। चितवनको हारपछि अब साविक विजेता लुम्बिनी लायन्स मात्र यस संस्करणमा अपराजित रहने एक मात्र टोली बनेको छ। 

म्याकमुलेनको आक्रामक ब्याटिङ, रथरफोर्ड र आरिफले दिलाए जित

लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमको सुरुवात खराब रह्यो र टोलीले मात्र ३ रनमा पहिलो विकेट गुमायो। तर, ब्रान्डन म्याकमुलेनले २१ बलमा ६ चौका र २ छक्काको मद्दतले सर्वाधिक ४३ रन बनाउँदै इनिङ्सलाई गति दिए। उनले विनोद भण्डारी (११ रन) सँग दोस्रो विकेटका लागि ३१ रन र इशान पाण्डेसँग तेस्रो विकेटका लागि ३६ रनको साझेदारी गरे। 

म्याकमुलेन र कप्तान दीपेन्द्र सिंह ऐरी लगातार आउट भएपछि सुदूरपश्चिम ७०–४ को कठिन स्थितिमा पुगेको थियो। त्यसपछि इशान पाण्डे (२५ रन) र आरिफ शेखले पाँचौँ विकेटका लागि ३३ रन जोड्दै टोलीलाई सम्हाले। इशान आउट भएपछि आरिफ शेख (अविजित २० रन) र शेरफान रथरफोर्ड (अविजित २१ रन) ले छैटौँ विकेटका लागि अभेद्य साझेदारी गर्दै टोलीलाई जितको रेखा पार गराए। 

चितवनका लागि बलिङतर्फ रञ्जित कुमारले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्। रिजन ढकाल र मौसम ढकालले समान १–१ विकेट हात पारे।

रवि बोपाराको ४९ रन, चितवन १२९ मा समेटियो

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो। चितवनका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका रवि बोपाराले ४० बलमा ३ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ४९ रनको योगदान दिए। अर्धशतक पूरा गर्न मात्र १ रन बाँकी छँदा उनी ठुलो सट खेल्ने चक्करमा आउट हुन पुगे। 

चितवनका लागि डाविड मालानले १६ रन, विवेक कुमार यादवले १७ रन तथा अर्जुन साउद र कप्तान सिकन्दर राजाले समान १५–१५ रन बनाए। सुदूरपश्चिमका तर्फबाट स्कट कुगेलेइनले २ विकेट लिए भने हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले १–१ विकेट चट्काए। 

मंगलबारका खेलहरू

एनपीएल अन्तर्गत मंगलबार पनि दुई खेलहरू हुनेछन्। पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्ने छन् भने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।


सोमबार १७ कात्तिक २०८३ ०८:४८ PM मा प्रकाशित

प्रतिक्रिया