काठमाडौँ (ई-सञ्चारपाटी) । सञ्चारगृहको समाचार कक्ष (न्युजरुम) भित्रै प्रवेश गरेर शुक्रबार प्रहरीले पत्रकारमाथि गरेको धरपकड र हस्तक्षेपको घटनालाई लिएर चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले यस गम्भीर विषयमा व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
प्रेस स्वतन्त्रता र संवैधानिक मर्म विपरीत आइतबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मुलुकका स्थापित २० जना पत्रकारहरूलाई मेन्सन गर्दै व्यङ्ग्य हानेका हुन्। नयाँ पत्रिका दैनिकमा प्रकाशित “प्रधानमन्त्री सचिवालयले २८ जना पत्रकारको सूची दिएर पक्राउ गर्न निर्देशन दिएको” भन्ने समाचारको दाबीप्रति लक्षित गर्दै सल्लाहकार बेनले फेसबुकमा लेखेका छन्, ‘यो २८ जना पत्रकारमा को–को पर्या हो। २८ मा नपर्ने नि के पत्रकार भन्नु हैन साथी हो।’
उनले आफ्नो फेसबुक पोस्टमा पत्रकारहरू समीर बलामी, जयसिंह महरा, रोशन खड्का, रुपेश श्रेष्ठ, कृष्ण आचार्य, अनिल गिरी, शिवहरि घिमिरे, प्रदीप कार्की, ओम शर्मा, रमेश सुवेदी, गोकर्ण अवस्थी, राजु घिसिङ, मनोज सत्याल, उमेश, चिरञ्जीवी पौडेल, श्रीधर पी. पौडेल, कमल सरगम, चौलागाईं, टिकाराम यात्री, केशव खड्का र वसन्त बस्नेतलाई सिधै मेन्सन (ट्याग) गर्दै उक्त कुरा लेखेका हुन्।
राज्य संयन्त्रको दुरुपयोग गरी पत्रकार पक्राउ गरिएको विषयमा सर्वत्र विरोध र प्रदर्शन भइरहेका बेला प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको तहबाट आएको यस्तो गैरजिम्मेवार र हलुका टिप्पणीलाई सञ्चार जगत् र नागरिक समाजले प्रेस स्वतन्त्रतामाथिको कुरुप मजाकका रूपमा लिएका छन्। सामाजिक सञ्जालमा उनको यस पोस्टलाई लिएर तीव्र आक्रोश र आलोचना सुरु भएको छ।
प्रतिक्रिया