×

सरकार स्वेच्छाचारी बन्दै गयो, सत्ताको दुरुपयोग भइरहेको छ : महामन्त्री प्रदीप पौडेल

images

काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकार स्वेच्छाचारी बन्दै गएको र कानुनी राज्यको उपहास गरिरहेको आरोप लगाएका छन्। सिंहदरबारमा जारी नेपाली कांग्रेस संसदीय दलको बैठकमा आफ्नो धारणा राख्दै उनले सरकारले संविधान र कानुनको बेवास्ता गर्दै सत्ताको चरम दुरुपयोग गरेको बताएका हुन्।

बैठकमा सहभागी स्रोतका अनुसार महामन्त्री पौडेलले सरकार कानुनी व्यवस्थालाई कमजोर बनाउन उद्यत रहेको उल्लेख गर्दै भने, "सरकार स्वेच्छाचारी भयो, संविधान र कानुनको बेवास्ता गरियो। कानुनी व्यवस्थालाई कमजोर बनाएर सत्ताको दुरुपयोग गरियो।"

महामन्त्री पौडेलले वर्तमान परिस्थितिमा अन्य प्रतिपक्षी दलहरूसँग समेत सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक तत्काल आह्वान गर्न माग गर्नुपर्ने धारणा पनि राखेका छन्।

हाल चर्चामा रहेको अदालतको सेटिङ प्रकरणमा बिचौलियासँगै न्यायाधीश, सरकार प्रमुख र प्रहरीसमेत मुछिएको विषयमा महामन्त्री पौडेलले गम्भीर चासो व्यक्त गरेका छन्। वर्तमान सरकारबाट निष्पक्ष छानबिनको कुनै अपेक्षा गर्न नसकिने भन्दै उनले यसको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय संसदीय समिति गठन हुनुपर्ने माग गरे।

"सरकारले नै यसबारे निष्पक्ष छानबिन गर्नेमा विश्वास छैन," महामन्त्री पौडेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, "प्रतिपक्षी, संसद्, जनता र प्रेसमाथि सरकारले ज्यादती बढायो, राज्यका संवैधानिक अंगहरूलाई कमजोर बनाइयो।"

सोमबार १७ कात्तिक २०८३ ११:२८ AM मा प्रकाशित

प्रतिक्रिया