काठमाडौं : नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले सधैं स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्।
काठमाडौंमा आयोजित एक सेमिनारलाई सम्बोधन गर्दै उनले नेपालको विशिष्ट भौगोलिक अवस्थिति र ऐतिहासिक पृष्ठभूमिलाई मध्यनजर गर्दै कुनै पनि शक्ति राष्ट्रको रणनीतिक समूह वा सैन्य गठबन्धनमा आबद्ध हुन नहुने स्पष्ट पारेका छन्।
पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले नेपालले आफ्ना परराष्ट्र नीतिको मुख्य आधार असंलग्नता र पञ्चशीलको सिद्धान्तलाई बनाउनुपर्ने बताए। गौतम बुद्धको मध्यम मार्गले समेत नेपालको परराष्ट्र नीतिलाई प्रभावित पारेको उल्लेख गर्दै उनले कुनै पनि अतिवादी धार वा रणनीतिक कित्तामा उभिन नहुने धारणा राखे।
“गौतम बुद्धको मध्यम मार्गले पनि हाम्रो परराष्ट्र नीतिलाई प्रभाव पारेको छ। कुनै पनि अतिवादमा नलाग्ने, कुनै कित्तामा नउभिने र रणनीतिक समूहमा नजोडिने कुरा असंलग्नता र पञ्चशीलका सिद्धान्तमा भेटिन्छन्,” उनले भने, “त्यसैले इतिहासको यो पक्षलाई ध्यानमा राखेर नेपालले सधैं स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ।”
छिमेकी मुलुकहरूसँगको सम्बन्धमा अविश्वास पैदा हुने खालका गतिविधि र नीति अपनाउन नहुने चेतावनी दिँदै उनले नेपालप्रति छिमेकीहरूको विश्वास कमजोर भएमा बाह्य शक्ति राष्ट्रहरूले चलखेल गर्ने अवसर पाउने बताए। ठूला मुलुकहरूको बीचमा अवस्थित नेपालले यस विषयमा गम्भीर सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।
चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र, ठूलो उपभोक्ता बजार, नवप्रवर्तनको केन्द्र तथा आर्थिक वृद्धिको इन्जिन भएको उल्लेख गर्दै उनले उत्तरी छिमेकीसँगको सम्बन्धलाई उच्च महत्त्वका साथ अघि बढाउनुपर्ने बताए। दक्षिणी छिमेकी भारत पनि नेपालका लागि उत्तिकै महत्त्वपूर्ण रहेको औंल्याउँदै उनले दुवै छिमेकीसँग पारदर्शी, विश्वसनीय र सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने बताए।
भू-राजनीतिक रूपमा दुई ठूला देशको बीचमा हुनु नेपालका लागि कमजोरी नभई एउटा ठूलो अवसर भएको उनको तर्क छ। नेपालको वर्तमान परराष्ट्र नीति र यसका गतिविधिका आधारमा छिमेकीहरूको विश्वास जित्न सके-नसकेको विषयमा बौद्धिक समुदायले गम्भीर समीक्षा गर्नुपर्नेमा समेत उनले जोड दिएका छन्।
कार्यक्रमको अन्त्यमा उनले चिनियाँ कम्युनिष्ट पार्टी संगठनात्मक र नीतिगत रूपमा निकै व्यवस्थित रहेको चर्चा गर्दै त्यसबाट नेपालका कम्युनिष्ट पार्टीहरूले पनि धेरै कुरा सिक्न सक्ने बताएका छन्।
प्रतिक्रिया