×

गण्डकी प्रदेश : अथाह शक्ति, अलपत्र आयोजना

images

पोखरा। गण्डकी प्रदेशवासीको प्रतिव्यक्ति आय १ हजार ४ सय ९२ अमेरिकी डलर छ । र, यहाँको गरिबीको जीवस्तर अन्य प्रदेशको तुलनामा कम छ । गण्डकीको आर्थिक वृद्धिदर ३ दशमलब ७४ प्रतिशत हो । चालु आवको चैतसम्म गण्डकीको ९ प्रतिशत (अर्थात् ४ अर्ब ८२ अर्ब) कुल गार्हस्थ उत्पादन छ । विगतमा ३ खर्ब ८ अर्ब रहेकोमा अहिले बढेको हो ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. गिरधारी शर्मा पौडेल भन्छन्, ‘गण्डकीको शक्ति र सामथ्र्य धेरै छ । तर चिन्न सकेको छैन ।’ नीति तथा योजना आयोगमा दुई कार्यकाल रहेका डा. पौडेलको विचारमा गण्डकीको ऊर्जा र खनिजमा बढी सामथ्र्य छ । उनी भन्छन्, ‘यहाँको हर्वल मेडिसिनलाई पनि उपयोग गर्न सक्यौं भने गण्डकीमा वार्षिक औषधीमा खर्च हुने २० अरब रुपैयाँ जोगिने छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी पनि डा. शर्माको विचारमा सहमत छन् । उनी भन्छन्, ‘गण्डकी प्रदेशमा त यतिधेरै सम्भावना छन्, त्यो सत्तामा जानेहरुले बुझ्नै सकेनन् ।’ उनका अनुसार गण्डकीमा आजभन्दा २५/२६ सय वर्षअघि कास्कीका घले राजाहरुले शासन गरेको ठाउँ हो । यसको ऐतिहासिक महत्व बखान गरेर साध्य छैन । नेपालको एकीकरणमा यसको छुट्टै महत्व छ ।

‘गण्डकीमा बूढीगण्डकीदेखि कालीगण्डकीसम्मको जुन सिमाना छ, ती नदीहरु हिमालबाट बगेर आएका छन् । नेपालमा भएका उच्च शिखरहरु सगरमाथा र कञ्चनजंघाबाहेक १२ वटा जति गण्डकीमै पर्छन् । यसको महत्व हामीले दर्शाउन सकेका छैनौं,’ उनी भन्छन्, ‘उच्च शिखरबाट ३६५ दिनै बग्ने नदीहरुको हामीहरुले कुनै उपयोग गर्न सकेका छैनौं । पानी त्यसै बगेको बग्यै छ ।’

गण्डकीले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै आयोजनामा प्रदेशको शक्ति र सामथ्र्य संघ सरकारलाई झक्झक्याउन केही दिनअघि पोखरामा अन्तरप्रदेश मुख्यमन्त्रीहरुको बैठक बस्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कोशीबाहेक सबै प्रदेशका मुख्यमन्त्रीहरुको सहभागिता रहेको सो बैठकले विभिन्न १७ बुँदे साझापत्र तयार पारेको छ ।

मङ्गलबार १९ असार २०८० ०७:४८ AM मा प्रकाशित

प्रतिक्रिया