×

साउदीबाट स्वदेश फर्किन नपाएका ११८ जनाले पाए एक्जिट भिसा

images

साउदीमा रहेकाे नेपाली दूतावासको प्रयासमा ११८ जनाले स्वदेश फर्कने अनुमति(वहिर्मन भिसा) पाएका छन् ।

साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानमा काम गर्दा साउदीको आवासीय अनुमति पत्र(इकामा) नबनाइएका वा नवीकरण नगरिएका र कम्पनीले हुरुब लगाएका कारण समस्यामा परेका ११८ जना नेपालीले स्वदेश फर्कने एक्जिट भिसा पाएको दूतावासले जनाएको छ । 

समस्यामा परेका श्रमिकले दूतावासमा आवेदन दिएपछि स्वदेश फिर्तीको प्रक्रियाका लागि साउदीको विभिन्न निकायमा पहल गरेको थियो । रियादस्थित दूतावासले गएको दुई हप्तामा प्रक्रिया गरेको मध्येमा ११८ जनाले एक्जिट भिसा पाएका छन् । 

दूतावासले एक्जिट भिसा पाएकाहरूको नाम सार्वजनिक गर्दै दूतावासमा आएर आफ्नो भिसाको कपी लैजान अनुरोध गरेको छ । 

दूतावासले अन्यको पनि प्रक्रिया गरेको र एक्जिट भिसा प्राप्त भएकाहरूको विवरण दूतावासको फेसबुक पेजमार्फत सार्वजनिक गर्ने जनाएको छ । दमाम, जुवेल, खोबर र हलहासामा रहेको अध्यागमन कार्यालयले उपलब्ध गराउने एक्जिट भिसाको सूची पनि दूतावासले सार्वजनिक गर्ने जनाएको छ । दूतावासले एक्जिट भिसाको लागि आवेदन दिएकाहरूलाई दूतावासको फेसबुक पेज नियमित हेर्नसमेत अनुरोध गरेको छ । 

एक्जिट भिसा पाउनेको सूची हेर्नुहोस्

मङ्गलबार १७ जेठ २०७९ ०५:२५ PM मा प्रकाशित

प्रतिक्रिया