काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने सबैभन्दा ठूलो जिम्मेवारी सरकारको रहेको टिप्पणी गरेका छन् । शुक्रबार निर्वाचन आयोगले स्थानीय तह र प्रदेश सभा निर्वाचनबारे राजनीतिक दलका नेताहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।
निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगको पनि जिम्मेवारी रहे पनि त्यो सीमित हुने उल्लेख गर्दै उनले भने, “निर्वाचन आयोगले के कुराको हेक्का राख्नुपर्दछ भने निर्वाचनको निष्पक्षता, निर्वाचनका काम गर्ने सन्दर्भमा आयोगको एउटा जिम्मेवारी छ । तर त्यो सीमित छ । निर्वाचनको निष्पक्षताको सुनिश्चितता गर्ने कुरामा सबैभन्दा ठूलो जिम्मेवारी सरकारको हुन्छ ।”
निर्वाचनका बेला सरकारले प्रतिपक्ष नचिन्ने भन्दै जिम्मेवारीबाट पन्छिन नपाउने उनको भनाइ छ । “सरकारले अरु कैयन् विषयमा म अरु कुनै पनि राजनीतिक दल चिन्दिनँ, प्रतिपक्षले चिन्दिनँ, कसैलाई चिन्दिनँ, कसैलाई गन्दिनँ, कसैलाई मान्दिनँ भन्दैगर्दा अरुबेलाका सरकारको कामकारबाही चल्छ, तर निर्वाचनमा चल्दैन्,” उनले भने ।
सभापति थापाले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सरकारले खेल्नुपर्ने भूमिकाबारे समयमै ध्यानाकर्षण गराउन आफूले निर्वाचन आयोगलाई सुझाएको जानकारी दिए ।
विगतको सन्दर्भ स्मरण गर्दै उनले भने, “हामीले स्मरण गरायौं– भाद्र २३ र २४ को अनपेक्षित विप्लपपछाडि एकैपटक जुन रिक्तताको स्थिति आयो र निर्वाचन भयो, त्यो बेलामा निर्वाचन आयोगले मात्रै निर्वाचन गराएर निर्वाचन भएको होइन, निर्वाचन आयोगको ठूलो भूमिका थियो । त्यो बेलाको सुशीला कार्कीको सरकारले दलहरूसँग कतिपटक कुराकानी गर्यो, कसरी वातावरण बनायो भन्ने कुरा महत्त्वपूर्ण छ ।”
स्थानीय तह र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्ने तथा त्यसलाई शान्तिपूर्ण बनाउने विषयमा सरकारले गर्नुपर्ने कामबारे आयोगले समयमै सरकारको ध्यानाकर्षण गराउनुपर्नेमा उनले जोड दिए । “निर्वाचन आयोगले मात्रै सबै जिम्मा नउठाओस् । सबै जिम्मा आयोगको मात्रै हुँदैन,” उनले भने ।
निर्वाचन कहिले र कसरी गराउने भन्ने विषय संविधानमा व्यवस्था भए पनि कतिपय पक्ष व्यावहारिक रूपमा पनि जोडिने बताउँदै सभापति थापाले यस्ता विषयमा सरकारले दलहरूसँग छलफल गरी टुंग्याउनुपर्ने धारणा राखे ।
प्रतिक्रिया