काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैसाथ गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा राजनीतिक दलहरूबीच थप छलफल आवश्यक रहेको बताएका छन् ।
निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग गरेको छलफलपछि कुराकानी गर्दै संयोजक प्रचण्डले संविधान र कानुनलाई आधार मानेर निर्वाचन सम्पन्न गर्नुपर्ने धारणा राखे । “एकैसाथ गर्ने कि छुट्टछुट्टै गर्ने भन्ने पनि प्रश्न छ । संविधान र कानुनलाई आधार मानेर नै निर्वाचन सम्पन्न गर्न सक्छौँ,” उनले भने ।
विगतको अभ्यास स्मरण गर्दै उनले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैसाथ तथा छुट्टाछुट्टै दुवै तरिकाले गरिएको बताए । “पहिले–पहिले प्रदेश र सङ्घको चुनाव एकैचोटि पनि गरेका छौँ । अलगअलग पनि गरेका छौं,” प्रचण्डले भने, “योबारे राजनीतिक दलले अझै छलफल गरेर टुङ्ग्याउने भनिएको छ ।”
निर्वाचनको मितिभन्दा पनि दुवै तहका जनप्रतिनिधिले पूरा पाँच वर्ष काम गर्न पाउने सुनिश्चितता महत्त्वपूर्ण रहेको उनले जोड दिए । “दुवै तहका जनप्रतिनिधिहरूले पाँच वर्ष काम गर्न पाउने सुनिश्चित हुनुपर्छ । पाँच वर्षको कुरा मुख्य कुरा हो । चुनाव दुई महिना अगाडि गर्ने वा पछाडि गर्ने मुख्य होइन,” उनले भने ।
यस विषयमा सबै पक्षसँग थप परामर्श गरी अर्को बैठकमा टुङ्गो लगाउने सहमति भएको संयोजक प्रचण्डले जानकारी दिए ।
प्रतिक्रिया