×

स्थानीय तहलाई स्वायत्त सरकारका रूपमा विकास गर्नुपर्छ : अध्यक्ष ओली

images

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई अधिकारसम्पन्न र स्वायत्त सरकारका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। पार्टीको राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै उनले राज्यका तीनवटै अङ्ग— विधायिकी, कार्यकारिणी र न्यायिक अधिकारको अभ्यास गर्ने स्थानीय तहलाई अझ सबल बनाउनुपर्ने बताएका हुन्।

ओलीले प्रदेशलाई अत्यधिक शक्तिशाली बनाउँदा देशमा पृथकतावादी र जातिवादी प्रवृत्ति बढ्न सक्ने आशंका व्यक्त गर्दै स्थानीय तहलाई बलियो बनाउँदा त्यस्तो कुनै खतरा नरहने दाबी गरे। “स्थानीय तहलाई आफैँले विधायकीय, कार्यकारिणी र न्यायिक अधिकार प्रयोग गर्न सक्ने स्वायत्त सरकारका रूपमा बनाउनुपर्छ,” उनले भने, “स्थानीय तहसँग जुन अधिकार छ, त्यो अरूसँग छैन।” ठूला राष्ट्रिय आयोजनाको जिम्मेवारी संघीय सरकारको भए पनि जनताको दैनिक सेवा र स्थानीय आवश्यकताका काम स्थानीय तहमार्फत नै प्रभावकारी हुने उनको भनाइ थियो।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले जनप्रतिनिधिले संविधानबमोजिम पाँच वर्षको पूरा कार्यकाल काम गर्न पाउनुपर्ने बताए। उनले आगामी स्थानीय तहको निर्वाचन फागुन वा चैतमा नभई वैशाखको अन्तिममा हुनुपर्ने र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्नुपर्ने पार्टीको स्पष्ट धारणा राखे।

जनप्रतिनिधिहरूलाई जनतासँग शालीन, विनम्र र मित्रतापूर्ण व्यवहार गर्न आग्रह गर्दै ओलीले पदको घमण्ड नगरी ‘मुस्कानसहितको सेवा’ दिन निर्देशन दिए। जनतासँग रूखो बोल्ने वा धाक जमाउने प्रवृत्तिले मतदाता रिसाउने भन्दै उनले विगत पौने चार वर्षमा भएका कमजोरी सुधार्न र जनतासँग टुटेको सम्बन्ध तत्काल जोड्न आग्रह गरे।

आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिँदै ओलीले पार्टीभित्रै बसेर आफ्ना उम्मेदवारलाई हराउने अन्तर्घाती प्रवृत्ति एमालेमा स्वीकार्य नहुने चेतावनी दिए। “पार्टी नबदल्ने, भोट बदल्ने, योभन्दा लज्जास्पद कुरा के हुन्छ ? अन्तर्घात गर्नेलाई नेकपा एमालेमा कुनै ठाउँ छैन,” उनले भने।

राम्रो काम गर्ने जनप्रतिनिधिलाई पुनः अवसर मिल्न सक्ने संकेत गर्दै उनले उम्मेदवार जो भए पनि पार्टीलाई जिताउन एकजुट हुनुपर्ने बताए। विगतमा मत नदिएका मतदाताको समेत विश्वास जितेर गाउँगाउँमा पुग्न आग्रह गर्दै ओलीले एमाले हार्नका लागि नभई देश बनाउन, राष्ट्रियता जोगाउन र सुशासन दिन जन्मिएको पार्टी भएकाले आगामी निर्वाचनमा विजय हासिल गर्ने दाबी गरे।

शुक्रबार​ ५ मंसिर २०८३ ०७:१२ PM मा प्रकाशित

प्रतिक्रिया