काठमाडौँ, १४ कात्तिक (ई-सञ्चारपाटी) । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको अध्यक्षतामा आकस्मिक रूपमा बसेको पोलिसी कोअर्डिनेशन कमिटी (पीसीसी) को बैठकले संगठन प्रमुखविरुद्ध भइरहेका पछिल्ला प्रचारहरूलाई ‘अनर्गल र भ्रामक’ भएको निष्कर्ष निकालेको छ। हेडक्वाटरमा करिब चार घण्टासम्म चलेको उक्त उच्चस्तरीय बैठकमा प्रहरी संगठनभित्र विकसित पछिल्ला घटनाक्रम र अनुसन्धानका गोपनीयता भङ्ग भएको विषयमा गम्भीर मन्थन भएको थियो।
गोप्य सूचना चुहावट भएकोमा गम्भीर चिन्ता
बैठकमा सहभागी एक उच्च प्रहरी अधिकृतका अनुसार, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्ध जोडिएका बिचौलिया भनिएका इनम सापकोटामाथि भइरहेको अनुसन्धानका विवरणहरू बाहिरिएको विषयमा गम्भीरतापूर्वक छलफल भएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका सापकोटाको केसमा अनुसन्धानका संवेदनशील र गोप्य सूचनाहरू कसरी सञ्चारमाध्यममा पुगे भन्नेबारे छानबिन गरिने भएको छ। सूचना चुहावटमा संलग्न व्यक्तिको पहिचान गरी कडा कारबाही गर्ने विषय पीसीसी बैठकमा उठाइएको छ।
आईजीपी हटाउने हल्ला भ्रामक, सामूहिक प्रतिवाद गर्ने निर्णय
पछिल्लो समय सरकारले आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाउने तयारी गरिरहेको भन्दै सार्वजनिक भएका समाचार तथा विवरणहरू पूर्णतः सत्यहीन रहेको बैठकले ठहर गरेको छ। बैठकमा आफ्नो धारणा राख्दै आईजीपी कार्कीले आफूविरुद्ध नियोजित रूपमा फैलाइएका विवरणहरूमा कुनै सत्यता नभएको दाबी गर्दै यस्ता भ्रममा नपर्न आग्रह गर्नुभएको थियो। संगठन प्रमुख र समग्र प्रहरीको छवि धमिल्याउने उद्देश्यले गरिएका यस्ता प्रचारहरूको सामूहिक रूपमा प्रतिवाद गर्ने निर्णयसमेत प्रहरी नेतृत्वले गरेको छ।
उक्त महत्त्वपूर्ण बैठकमा प्रहरीका आठ जना अतिरिक्त महानिरीक्षक (एआईजी), सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूको भौतिक तथा भर्चुअल उपस्थिति रहेको थियो। बैठकमा आईजीपी कार्कीले संगठनभित्र देखिन सक्ने अनुशासनहीनता र आन्तरिक सूचनाको सुरक्षाप्रति सजग रहन तथा आ-आफ्नो जिम्मेवारीमा थप गम्भीर हुन मातहतका उच्च अधिकारीहरूलाई कडा निर्देशन दिनुभएको छ।
प्रतिक्रिया