काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले देशको वर्तमान राजनीतिक परिस्थितिलाई लिएर गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। मुलुकका प्रमुख राजनीतिक दलहरू र तिनका शीर्ष नेताहरूबीच सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा तीखो जुहारी चलिरहेका बेला उपसभापति भण्डारीले 'जोस र लोभ' को राजनीतिले मुलुकलाई दुर्घटनातर्फ धकेल्ने चेतावनी दिनुभएको हो।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक विचारोत्तेजक पोस्ट लेख्दै भण्डारीले नेतृत्व तहमा देखिएको आवेग र स्वार्थप्रति कडा टिप्पणी गर्नुभएको छ।
'जोस क्षणिक र लोभ अनियन्त्रित हुन्छ'
पछिल्लो समय सत्तापक्ष, प्रतिपक्ष र विभिन्न दलका शीर्ष नेतृत्वबीच सुशासन, अनुसन्धान र राजनीतिक दाउपेचका नाममा डिजिटल द्वन्द्व बढेको छ। यसै पृष्ठभूमिमा कांग्रेस उपसभापति भण्डारीले विवेक गुमाउने नेतृत्वलाई रोक्न विधि र कानुन बलियो हुनुपर्नेमा जोड दिनुभएको छ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्:
“के हुँदैछ ? जोसले अगाडिको बाटो देख्न छोड्यो, लोभका सामु पदले विवेक गुमायो भने त्यसलाई विधि र कानुनले हस्तक्षेप नगरे भोलिको दुर्घटना रोक्न सकिदैन। किनकि जोस क्षणिक हुन्छ, लोभ अनियन्त्रित हुन्छ, तर त्यसको परिणाम पुस्तौं सम्म भोग्नुपर्छ!”
विधिको शासनको वकालत
नेता भण्डारीको यो भनाइले वर्तमान राजनीतिक वृत्तमा पद र शक्तिका लागि भइरहेका खिचातानी तथा कानुनी दायरालाई नै चुनौती दिने गरी चालिएका कतिपय कदमहरू प्रति लक्षित गरेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ। सार्वजनिक पदमा बस्नेहरूले क्षणिक लोकप्रियता वा व्यक्तिगत/पार्टीगत स्वार्थका लागि विवेक गुमाउन नहुने र यदि त्यसो भएमा राज्यका कानुनी निकायहरूले दृढतापूर्वक हस्तक्षेप गर्नुपर्ने उनको धारणा छ।
उनले नेतृत्वको असमझदारी र गलत निर्णयको मूल्य आउने पुस्ताले समेत चुकाउनुपर्ने भन्दै सबैलाई जिम्मेवार बन्न सचेत गराउनुभएको छ।
राजनीति थप गर्माएको बेला अभिव्यक्ति
पछिल्ला केही दिनयता सञ्चारगृहमाथिको प्रहरी हस्तक्षेप, विभिन्न प्रकरणमा भइरहेका पक्राउ तथा अनुसन्धान र शीर्ष नेताहरूबीच सामाजिक सञ्जालमा सुरु भएको ‘डिजिटल वार’ ले मुलुकको राजनीति निकै गर्माएको छ। नेपाली कांग्रेसकै महामन्त्री गगन थापा र काठमाडौँका मेयर बालेन शाहबीच समेत सामाजिक सञ्जालमा जुहारी चलिरहेको बेला कांग्रेसकै अर्का शीर्ष नेता उपसभापति भण्डारीको यो सन्तुलित र वैचारिक धारणा सार्वजनिक भएको हो।
प्रतिक्रिया