×

जुनसुकै बेला सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने हुनसक्छ, तयार रहनुहोस् : अध्यक्ष ओली

images

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा हरदम तयार रहन पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन् । आइतबार काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासङ्घको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै आन्दोलनमा उत्रिनु पार्टीसामु मुख्य कार्यभार रहेको बताएका हुन् ।

अध्यक्ष ओलीले आन्दोलन सधैँ लामो पूर्वतयारीपछि मात्रै नभई परिस्थिति असह्य भएपछि तत्काल सुरु गर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गरे । सन् १९१७ को रुसी विद्रोहको उदाहरण दिँदै उनले विश्व इतिहासमा निर्वाचन, जनविद्रोह तथा उपद्रवकारी क्रियाकलापको माध्यमबाट सत्ता परिवर्तन हुने गरेको बताए ।

बैठकलाई सम्बोधन गर्दै ओलीले भने, “हाम्रो पार्टीको केन्द्रीय कमिटीले हाम्रो अगाडि दुईवटा महत्त्वपूर्ण कार्यभार रहेको भनेको छ । एउटा, हामीले आवश्यकताअनुसार आन्दोलन गर्नुपर्ने हुन्छ । आन्दोलनको तयारीको मानसिकताका साथ साथीहरू सधैँ हरदम तयार हुनुहोला । आन्दोलन सधैँ लामो तयारी गरेर मात्र हुन्छ भन्न सकिँदैन, परिस्थिति असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ ।”

दमनविरुद्ध लडेको इतिहासको स्मरण

एमालेले विगतदेखि नै विभिन्न राजनीतिक चुनौती र दमनको सामना गर्दै आएको दाबी गर्दै अध्यक्ष ओलीले पञ्चायतकाल र राजा महेन्द्रको शासनकालमा समेत पार्टीलाई समाप्त पार्ने प्रयास भएको स्मरण गरे । अनेकौँ प्रतिकूलता चिर्दै अघि बढेको एमाले नै अहिले पनि नेपालको सबैभन्दा मजबुत, देशभक्त र लोकतान्त्रिक शक्ति रहेको उनको जिकिर थियो ।

निराशा चिर्न जनपक्षीय आन्दोलन आवश्यक

वर्तमान अवस्थामा नागरिकमा बेचैनी र निराशा बढ्दै गइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो बेलामा एमाले वैचारिक रूपमा स्पष्ट भएर जनपक्षीय आन्दोलनको बाटोमा जानुपर्नेमा जोड दिए ।

केही राजनीतिक शक्तिहरूले आगामी निर्वाचनमार्फत पार्टी निर्माण गर्ने तयारी गरिरहेको टिप्पणी गर्दै उनले एमाले भने पार्टी बनाउन नभई पहिले नै बलियो सङ्गठन लिएर निर्वाचनमा होमिनुपर्ने बताए । उनले किसान महासङ्घका नेता तथा कार्यकर्तालाई सङ्गठन सुदृढीकरण र जनताका मुद्दामा केन्द्रित हुन आग्रहसमेत गरे ।

मङ्गलबार २ मंसिर २०८३ ०७:२४ PM मा प्रकाशित

प्रतिक्रिया