काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यो भ्रमणबारे नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालय दुवैले शुक्रबार औपचारिक घोषणा गरेका हुन् ।
गत फागुन २१ मा भएको निर्वाचनपछि प्रधानमन्त्रीमा नियुक्त भएका शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो । शुक्रबारै बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको भारत भ्रमण स्वीकृत गरिसकेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो १:४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गर्नेछन् । मंसिर ७ गते भारतीय प्रधानमन्त्री मोदीसँग उनको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, पूर्वाधार विकास तथा आपसी हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल हुने जनाइएको छ ।
भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान हुने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए । साथै, दुवै देशबीच सम्पन्न भएका विभिन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको छ ।
परराष्ट्र सचिव राईका अनुसार भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रम हुनेछ । कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा हुने उक्त कार्यक्रमलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गर्नेछन् । नेपालमा भारतीय लगानी आकर्षित गर्न नीतिगत प्रयास प्रस्तुत गरिने तथा व्यवसायीका चासो सुन्ने कार्यक्रम रहेको सचिव राईले बताए ।
“भ्रमणका क्रममा सहकार्यका विविध क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद व्यवस्थापन, मानव संशाधन विकास जस्ता विषयहरू समेटिएका विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिनेछन्,” सचिव राईले भने, “यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुनेछ ।” उनले उच्चस्तरीय भ्रमणले द्विपक्षीय मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धलाई थप उचाइ दिने विश्वास व्यक्त गरे ।
भ्रमण तालिकाअनुसार प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन् । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाह र उनको प्रतिनिधिमण्डलको सम्मानमा औपचारिक दिवाभोज आयोजना गर्नेछन् भने प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्नेछन् ।
प्रधानमन्त्री शाह नेतृत्वको सरकारी भ्रमण टोली ३४ सदस्यीय हुनेछ । टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी हुनेछन् । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट राजदूतसहित केही सदस्य थपिनेछन् । यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली र विभिन्न सञ्चारमाध्यमका पत्रकार पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछन् ।
उता, भारतको विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहको भ्रमणलाई दुई देशबीचको उच्चस्तरीय नियमित आदानप्रदानको निरन्तरताका रूपमा व्याख्या गरिएको छ । नेपालसँगको सम्बन्धलाई आफ्नो ‘छिमेक पहिलो’ नीतिअन्तर्गत विशेष महत्त्व दिँदै आएको उल्लेख गर्दै भारतले ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको घनिष्ठ सम्बन्धका आधारमा व्यापार, विकास साझेदारी, ऊर्जा, जलस्रोत, भौतिक र डिजिटल सम्पर्क सञ्जालका साथै स्टार्टअप, प्रविधि, नवप्रवर्तन र खेलकुदजस्ता नयाँ क्षेत्रमा सहकार्य विस्तार भइरहेको जनाएको छ ।
दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह मंसिर ७ गते साँझ ६:३५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया