×

दाङमा हावाहुरीले  ८० भन्दा धेरै घरको छाना उडायो

images

दाङको देउखुरीमा पनीसँगै आएको हावाहुरीले ८० वटा भन्दा धेरै घरको छाना उडाएको छ ।

गएको शुक्रवार राति आएको हावाहुरी र पानीले राप्ती गाउँपालिका वडा नम्बर ३ मा ३२ वटा घरको छानो उडाएको हो । वडा नम्बर ३ मा ४० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको राप्ती गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष उमेश अधिकारीले जानकारी दिनुभएको छ । 

हावाहुरीसँगै आएको पानीले वडा नम्बर ३ को मसुरीया, नयाँबस्ती, बागढड्डी लगायतका गाउँमा खर, टिन र टायलले छाएको बस्ने घर, गोठ र भान्सा घरको छाना उडाएको छ । 

त्यसैगरी राप्ती गाउँपालिका वडा नम्बर ४ मा ५० वटा भन्दा धेरै घरको छाना उडाउनुका साथै घरभित्र भएका अन्नपात, लत्ताकपडा भिजेर ५५ लाख रुपैयाँ बराबरको क्षति भएको वडा नम्बर ४ का अध्यक्ष वीरबहादुर चौधरीले जानकारी दिनुभयो ।  

वडाध्यक्ष चौधरीका अनुसार वडा नम्बर ४ को मौरीघाट, खिनैटा, मझनीगढ, पैसठ्ठी नम्बर, सुन्दरपुर, पिपरखुटी, नयाँगाउँमा हावाहुरीले क्षति पुर्‍याएको हो । हावाहुरीले राप्ती गाउँपालिका वडा नम्बर ४ पैसठ्ठी नम्बर मौरीघाटकी २९ वर्षीया प्रमिला चौधरी घाइते हुनुभएको छ । नजिकैकै मण्डलीमा काम गरिरहेका बेला हावाहुरीले उडाएको टिनले चौधरीको बायाँ खुट्टाको कुरकुच्चा काटेको छ । गहिरो घाउ भएपछि चौधरीलाई तत्काल लमहीको प्लोरेन्स अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाण्डौ पठाइएको छ । 

घटनाको थप विवरण आउने क्रम जारी छ । शनिवार बिहानैदेखि वडा नम्बर ३ का अध्यक्ष उमेश अधिकारी र वडा नम्बर ४ का अध्यक्ष वीरबहादुर चौधरीको टोलीले आ–आफ्नो वडामा क्षतिको विवरण सङ्कलन गरिरहेका प्रहरीले जनाएको छ ।

शुक्रवार राति आएको हावाहुरीले पुर्‍याएको क्षतिबारे राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थलगत अनुगमन गर्नुभएको छ । क्षति भएका घर परिवारलाई पालिकाको तर्फबाट र नेपाल सरकारको तर्फबाट क्षतिपूर्ति उपलब्ध गराउने बताइएको छ । 

आइतबार​ ८ जेठ २०७९ ०२:१७ PM मा प्रकाशित

प्रतिक्रिया