×

काठमाडौं-तराई द्रुतमार्गको महादेवटार सुरुङको ‘ब्रेक थ्रु’, राष्ट्रपति पौडेलद्वारा नेपाली सेनाको प्रशंसा

images

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङ (३.३९९ किलोमिटर) को बुधबार औपचारिक रूपमा ‘ब्रेक थ्रु’ गरेका छन्।

सो विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुका साथै राष्ट्रनिर्माण तथा विकासका क्षेत्रमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएका छन्।

विकट भौगोलिक अवस्था, जटिल भूबनोट तथा प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्त्वका पूर्वाधार निर्माणमा सेनाले प्रदर्शन गर्दै आएको व्यावसायिक दक्षता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय र अनुकरणीय रहेको उनको भनाइ थियो। राष्ट्रिय गौरवको यस आयोजनाको ट्र्याक निर्माणदेखि विशेष प्रकृतिका सुरुङ तथा अग्ला पुलहरूसहित देशकै पहिलो द्रुतमार्ग निर्माणमा नेपाली सेना अहोरात्र क्रियाशील रहेको राष्ट्रपति पौडेलले उल्लेख गरे।

काठमाडौं उपत्यकालाई तराई/मधेशसँग प्रत्यक्ष रूपमा जोड्ने करिब ७१ किलोमिटर लम्बाइको अत्याधुनिक प्रविधिमा आधारित यस द्रुतमार्गको निर्माण सम्पन्न भएपछि मुलुकको समग्र यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने विश्वास उनले व्यक्त गरे।

“यो आयोजना सञ्चालनमा आएपछि यात्रा समय तथा दूरीमा उल्लेखनीय कटौती हुनुका साथै इन्धन खपत र सवारीसाधनको सञ्चालन तथा मर्मतसम्भार खर्चमा समेत उल्लेख्य बचत हुने नै छ,” राष्ट्रपति पौडेलले भने, “राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदानमार्फत देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा अहम् भूमिका निर्वाह गर्ने यो आयोजना समयमा नै सम्पन्न गर्न नेपाल सरकार तथा नेपाली सेना दृढ रहेको मैले पाएको छु।”

यस आयोजनाको महत्त्व केवल भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नरहेको बताउँदै उनले यसले संघीय राजधानी काठमाडौँ र तराई/मधेशबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

साथै, पर्यटन प्रवर्द्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र दिगो विकासका लक्ष्य प्राप्तिमा यस आयोजनाको योगदान दूरगामी रहने अपेक्षा गरिएको उल्लेख गर्दै उनले आयोजना समयमै सम्पन्न गर्न सबै पक्षको निरन्तर सहयोग रहनेमा जोड दिए।

 सो ‘ब्रेक थ्रु’ कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, भौतिक पूर्वाधार विकास मन्त्री सुनील लम्साल, नेपालस्थित चीनका राजदूत चाङ माओमिङ, दक्षिण कोरियाका राजदूत पार्क जे क्यूङ र प्रधानसेनापति अशोकराज सिग्देल लगायत उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो।

बुधबार ३ मंसिर २०८३ १२:२० PM मा प्रकाशित

प्रतिक्रिया