×

त्रिभुवन विमानस्थलबाट पौने दुई किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

images

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पौने दुई किलो सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीका अनुसार मंगलबार मध्यराति १ बजेर २५ मिनेट जाँदा १ किलो ८०३.७७ ग्राम अवैध सुनसहित ती चिनियाँ नागरिक पक्राउ परेका हुन्।

हङकङबाट नेपाल वायु सेवा निगमको उडान नम्बर आरए४१० मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका चीनको जिलिन प्रान्तका जियानह्वा वाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सुरक्षा जाँच पार गरेपछि पक्राउ

विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको नियमित चेकिङ क्षेत्र सकुशल पार गरिसकेका वाङलाई शंका लागेपछि नेपाल प्रहरीको विशेष टोलीले पछ्याउँदै नियन्त्रणमा लिएको थियो। सुरक्षा जाँचका मुख्य घेराहरू छलेर बाहिरिने क्रममा उनी प्रहरीको फन्दामा परेका हुन्।

पक्राउ परेका चिनियाँ नागरिक वाङलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि बरामद गरिएको सम्पूर्ण सुनसहित त्रिभुवन विमानस्थलको गौचरस्थित भन्सार कार्यालयमा बुझााइएको प्रहरीले जनाएको छ। पछिल्लो समय विमानस्थल हुँदै भइरहेको सुन तस्करी रोक्न सुरक्षा निकायले निगरानी थप कडा बनाउँदै लगेको छ।

बुधबार ३ मंसिर २०८३ १२:२७ PM मा प्रकाशित

प्रतिक्रिया