×

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन प्रतितोला २ लाख ६० हजार ९०० मा झर्यो

images

काठमाडौं । निरन्तर ओरालो लागिरहेको स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यमा पुनः भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेर २ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको भाउ पनि बुधबार प्रतितोला ११० रुपैयाँले सस्तिएर ३ हजार ३८० रुपैयाँमा झरेको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो।

पछिल्ला केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार घट्ने क्रममा रहेको छ। आइतबार प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँ रहेको सुन सोमबार २ लाख ६९ हजार १०० रुपैयाँमा झरेको थियो। त्यस्तै, आइतबार प्रतितोला ३ हजार ६०० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ३ हजार ५२० रुपैयाँ हुँदै मंगलबार ३ हजार ४९० रुपैयाँमा आइपुगेको थियो।

तिहार बिदापछि बजार खुलेयता नै सुनचाँदीको मूल्यमा निरन्तर गिरावट देखिएको महासंघको तथ्यांकले देखाउँछ। तिहारअघिको अन्तिम कारोबार दिन कात्तिक २३ गते सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ र चाँदी ३ हजार ८५५ रुपैयाँ थियो। तिहारपछि कात्तिक २७ गते शुक्रबार बजार खुल्दा सुन प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ र चाँदी ३ हजार ७ रुपैयाँ कायम भएको थियो। तिहारअघिको उच्च मूल्यसँग तुलना गर्दा बुधबारसम्म आइपुग्दा सुन प्रतितोला २३ हजार ४०० रुपैयाँ र चाँदी ४७५ रुपैयाँले सस्तिएको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव यता, अन्तर्राष्ट्रिय बजारमा समेत बहुमूल्य धातु सुन र चाँदीको भाउमा ठूलो गिरावट आएको छ। ‘मेटल्स डेली’ का अनुसार बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ७८४ अमेरिकी डलर र चाँदी प्रतिऔंस ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै मूल्य ओरालो लागेकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो।

बुधबार ३ मंसिर २०८३ १२:२३ PM मा प्रकाशित

प्रतिक्रिया