काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायर खेलमा आज (मंगलबार) लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो महत्वपूर्ण खेल साँझ ५ बजे सुरु हुनेछ।
एनपीएलको यस संस्करणमा यी दुई टोलीबीच हुन लागेको यो दोस्रो भेट हो। यसअघि प्रतियोगिताको उद्घाटन खेलमै यी दुई टोली आमनेसामने भएका थिए, जहाँ लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गर्दै शानदार सुरुवात गरेको थियो। आजको खेलमा सुदूरपश्चिम सोही हारको बदला लिँदै फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ भने लुम्बिनी आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै लगातार दोस्रोपटक फाइनल पुग्ने लक्ष्यमा रहेको छ।
लिग चरणको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको थियो। लुम्बिनीले ५ खेलमा जित, १ खेलमा हार र १ खेलमा अंक बाँड्दै जम्मा ११ अंकका साथ शीर्ष स्थान सुरक्षित गरेको हो।
त्यसैगरी, सुदूरपश्चिमले लिग चरणका ५ खेलमा जित र २ खेलमा हार भोग्दै १० अंकसहित दोस्रो स्थानमा रहँदै लुम्बिनीसँगको भेट पक्का गरेको हो।
आजको खेलमा जित निकाल्ने टोलीले सिधै फाइनलमा आफ्नो स्थान पक्का गर्नेछ। यद्यपि, आजको खेलमा पराजित हुने टोलीलाई पनि उपाधि यात्राको अन्तिम मौका भने बाँकी नै रहनेछ। पराजित हुने टोलीले इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।
प्रतियोगिता अन्तर्गत तेस्रो स्थानको काठमाडौँ गोर्खाज र चौथो स्थानको चितवन राइनोजबीचको इलिमिनेटर खेल बुधबार हुनेछ।
प्रतिक्रिया