काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार गिरावट आउने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले घटेर २ लाख ६७ हजार २०० रुपैयाँमा झरेको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आइतबार प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँ रहेको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि निरन्तर गिरावट आएको छ । मङ्गलबार चाँदीको मूल्य प्रतितोला ३ हजार ४९० रुपैयाँमा झरेको छ। यसअघि सोमबार ३ हजार ५२० रुपैयाँ र आइतबार ३ हजार ६०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा मङ्गलबार थप घटेको हो।
तिहारपछि बजार खुलेयता सुनचाँदीको मूल्य निरन्तर ओरालो लागेको स्पष्ट रूपमा देखिएको छ। तिहारपछिको पहिलो कारोबार दिन कात्तिक २७ गते शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ र चाँदी ३ हजार ७ रुपैयाँ रहेको थियो।
त्यस्तै, तिहारअघि कात्तिक २३ गते अन्तिम कारोबार हुँदा सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ र चाँदी ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो । यसरी तिहारअघिको मूल्यसँग दाँज्दा मङ्गलबारसम्म आइपुग्दा सुन प्रतितोला १७ हजार १०० रुपैयाँ र चाँदी ३६५ रुपैयाँले सस्तिएको छ ।
यता, नेपाली बजारमा मूल्य घटिरहँदा अन्तर्राष्ट्रिय बजारमा भने सुनचाँदीको मूल्यमा सामान्य सुधार आएको छ। मेटल्स डेलीका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ८७९ डलर र चाँदी प्रतिऔंस ४७ डलरमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा अन्तर्राष्ट्रिय बजारमा यी दुवै बहुमूल्य धातुको मूल्य केही बढेको देखिएको छ।
प्रतिक्रिया