काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ‘ह्वाइट पार्क रिसोर्ट’ बाट शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको संयुक्त टोलीले मंगलबार दिउँसो करिब ३ बजे रिसोर्टमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
रिसोर्टमा विदेशी नागरिकहरू भेला भई शंकास्पद गतिविधि सञ्चालन गरिरहेको भन्ने स्थानीयको जनगुनासोका आधारमा सुरक्षा निकायले कारबाही अघि बढाएको थियो । प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्ट र प्रहरी निरीक्षक मनराज बानियाँको कमान्डमा ३० जनाको संयुक्त सुरक्षा टोली अपरेसनका लागि परिचालन गरिएको थियो ।
चेकजाँच तथा नियन्त्रणका क्रममा ३१ जना पुरुष र ५ जना महिला गरी कुल ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । नियन्त्रणमा लिइएका सबैलाई आवश्यक कानुनी प्रक्रिया र सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय धुलिखेल ल्याइएको छ ।
साइबर अपराधको आशंकामा अनुसन्धान सुरु
प्रहरीले रिसोर्टको तलासी लिने क्रममा दुईवटा कोठाबाट ठूलो संख्यामा ल्यापटप तथा मोबाइल फोनहरूसमेत बरामद गरेको छ । एकै स्थानमा ठूलो संख्यामा विद्युतीय उपकरण भेटिएपछि उनीहरू अनलाइन ठगी, साइबर अपराध वा अन्य कुनै गैरकानुनी सञ्जालमा संलग्न रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
बरामद गरिएका ल्यापटप र मोबाइलको प्राविधिक जाँचका साथै पक्राउ परेका चिनियाँ नागरिकहरूको भिसा र नेपाल बसाइको वैधानिकताबारे समेत सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया