काठमाडौं। नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा नेपाल सरकारबाट सम्मानित भएको छ। राष्ट्रिय कर दिवसका अवसरमा बैंकले नवौँ पटक उक्त सम्मान प्राप्त गरेको हो।
मंगलबार आन्तरिक राजस्व विभागद्वारा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले नबिल बैंकलाई सम्मानपत्र प्रदान गरेका थिए। उक्त सम्मान बैंकका तर्फबाट सञ्चालक समितिको अध्यक्षता गरिरहेका निर्वाण कुमार चौधरीले ग्रहण गरेका हुन्।
नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर नेपाल सरकारलाई बुझाएको थियो। त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा बैंकले ३ अर्ब ६० करोड रुपैयाँ आयकर बुझाएको जनाएको छ।
सम्मान ग्रहणपछि चौधरीले यो उपलब्धि समग्र नबिल परिवारका लागि गर्वको विषय भएको बताए। उनले यस सम्मानले बैंकका कर्मचारीहरूको योगदान र ग्राहकहरूले बैंकप्रति देखाएको विश्वासलाई प्रतिबिम्बित गर्ने उल्लेख गरे।
“हामी करदाताका रूपमा आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन्छौँ। ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न, जिम्मेवार व्यावसायिक अभ्यास अवलम्बन गर्न र नेपालको आर्थिक प्रगतिमा योगदान पुर्याउन हामी निरन्तर प्रतिबद्ध छौँ,” चौधरीले भने।
बैंकका अनुसार यो सम्मान व्यावसायिक सफलतासँगै राष्ट्रको आर्थिक तथा सामाजिक विकासप्रतिको जिम्मेवारीको समेत प्रतिबिम्ब हो। बैंकले पारदर्शी व्यावसायिक अभ्यास, जिम्मेवार बैंकिङ र ग्राहकको विश्वासलाई आफ्नो दीर्घकालीन प्रगतिको आधार मान्दै आएको छ।
नेपाल सरकारले प्रत्येक वर्ष राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न क्षेत्रबाट सर्वाधिक राजस्व योगदान गर्ने करदाता तथा संस्थाहरूलाई सम्मान गर्दै आएको छ। सोही अवसरमा बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर बुझाउने संस्थाका रूपमा नबिल बैंक सम्मानित भएको हो।
चार दशकभन्दा लामो बैंकिङ यात्रा पूरा गरिसकेको नबिल बैंकले नवीन सेवा तथा प्रविधिको प्रयोगमार्फत बैंकिङ सेवालाई सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको छ। दिगो बैंकिङलाई प्राथमिकता दिँदै बैंकले डिजिटल सेवाको विस्तारका लागि एनबैंक सञ्चालनमा ल्याएको छ।
हाल देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले ग्राहक, कर्मचारी तथा सम्पूर्ण सरोकारवालासँगको सहकार्यमा आर्थिक अवसर विस्तार र मुलुकको समृद्धिमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
नवौँ पटक प्राप्त यो सम्मानले नबिल बैंकको राजस्व योगदान र जिम्मेवार व्यावसायिक अभ्यासलाई थप उजागर गरेको छ।
प्रतिक्रिया