×

समाजवादी प्रेस सङ्गठनको ध्यानाकर्षण

images

समाजवादी प्रेस सङ्गठन नेपालले पत्रपत्रिका वर्गीकरणसम्बन्धी मापदण्ड समय सान्दर्भिक र वैज्ञानिक बनाई कार्यान्वयन गर्नका लागि ध्यानाकर्षण गराइएको छ । 

सङ्गठनले अन्यायमा परेर पुनःवर्गीकरणको माग राखेर आएका सञ्चारमाध्यमलाई विनापूर्वाग्रह वर्गीकरणमा समावेश गरी राहत दिन र अनलाइनलाई पनि वर्गीकरणमा गर्नुपर्ने माग गर्दै प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको हो ।

सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा एक प्रतिनिधिमण्डलले सञ्चारग्रामस्थित काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत समक्ष पत्रपत्रिका वर्गीकरण पूर्णरुपमा न्यायोचित गर्नुपर्ने र पुनरावलोकनमा परेका निवेदनमाथि सुनुवाइको नतिजा चाँडै सार्वजनिक गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराएको हो ।  
 
विभिन्न समयमा भएका लोकतान्त्रिक आन्दोलनमा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहेको, जनतालाई सही सूचना र विचार प्रदान गर्ने माध्यम आमसञ्चार नै भएको उल्लेख गरिएको ध्यनाकर्षणपत्रमा लोकतन्त्रको स्थापनापछि राज्यले लोकतन्त्रलाई बलियो बनाउन सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन दिने नीति निर्माण गर्न आग्रह गरिएको छ ।  

 अध्यक्ष श्रेष्ठले विगतमा काउन्सिलले गरेको वर्गीकरण पक्षपातपूर्ण भएको गुनासो आइरहेकाले वर्गीकरणलाई निष्पक्ष तथा थप प्रभावकारी बनाई सञ्चारमाध्यमको संरक्षण गर्नु काउन्सिलको दायित्व भएको बताउनुभयो । उहाँले नतिजा प्रकाशनमा ढिलो हुँदा चालु आर्थिक वर्षका लागि वर्गीकरणको फर्म भर्ने निवेदनको सूचना प्रकाशन गर्न ढिलाई भएकाले सूचना चाँडै निकाल्न काउन्सिलको ध्यानाकर्षण गराउनजुभयो । 
 
सङ्गठनको गत चैत १२ र १३ गते काठमाडौँमा सम्पन्न केन्द्रीय कमिटीको विस्तारित बैठकमा पनि वर्गीकरण पक्षपातपूर्ण भएकाले व्यवस्थित गर्न सुझाव गरिएको थियो । 

 काउन्सिलका अध्यक्ष बस्नेतले सङ्गठनले लामो अध्ययन र अनुसन्धान गरी उपलब्ध गराएको सुझावले समग्र सञ्चार जगतको कल्याण हुने बताउँदै वर्गीकरणलाई विवादरहित बनाउन आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सोमबार ५ बैशाख २०७९ ०४:२१ PM मा प्रकाशित

प्रतिक्रिया