काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजमा पछिल्लो समय 'नक्कली भगवान्' जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन् । आफ्नै देशका विद्वान्, ज्ञान र विचारलाई बेवास्ता गर्ने तर बाहिर वा विदेशी भूमिबाट आउने व्यक्तिलाई सहजै देवत्वकरण गर्ने प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै उनले यस्तो कटाक्ष गरेका हुन् ।
मंगलबार काठमाडौँमा आयोजित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले देवताहरूको जन्मसम्बन्धी पौराणिक प्रसङ्ग जोडेर अन्धभक्ति र अन्धश्रद्धामाथि तिखो प्रहार गरे ।
पौराणिक कथा र तेत्तीसकोटी देवताको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ओलीले भने, "२२–२३ सय वर्षअघि भगवानहरू छ्यासछ्यास्ती जन्मिँदा तेत्तीसकोटी जन्मिए। धन्न पार्वतीले श्राप दिइछन् र त्यसपछि देवता जन्मिन पाएनन् । अब कुनै देवताको पनि सन्तान नहोस् भनेपछि देवताहरूको जन्म ठप्प भयो।"
तर, पौराणिक कालमा देवताको जन्म रोकिए पनि आधुनिक समाजमा ढोंगी र नक्कली पात्रहरूको उदय भएको भन्दै उनले चिन्ता व्यक्त गरे । "पार्वतीले श्राप दिएपछि सक्कली देवता त जन्मिन छाडे, तर अहिले समाजमा नक्कली भगवान् जन्मिएर हैरान छ," ओलीले थपे।
नेपाली समाजमा व्याप्त परनिर्भर चिन्तन र अन्धभक्तिको आलोचना गर्दै ओलीले आफ्नै भूमिमा रहेका विद्वान् तथा ग्रन्थहरूलाई पर्याप्त महत्त्व नदिने परिपाटी रहेको औंल्याए।
"हामी आफैँमा पनि दक्षिणतिरका जोगीहरू आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने त्यस्तो चलन छ," ओलीले सामाजिक मनोविज्ञानमाथि कटाक्ष गरे, "तर हाम्रा आफ्नै कहाँका विद्वान् छन्, तिनलाई हामी चिन्दैनौँ। नेपाली विद्वान्हरूले तर्कपूर्ण र तथ्यपूर्ण कुरा लेखेका भए पनि हाम्रा लेखक तथा बौद्धिकहरूले आफ्ना ग्रन्थमा नेपालीको भन्दा बढी विदेशीकै भनाइ उद्धरण गर्ने गरेका छन् ।"
अध्यक्ष ओलीले योग र दर्शनका परम्परालाई पनि ईश्वरीय सत्ता वा अन्धविश्वाससँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको टिप्पणी गरे । अष्टाङ्ग योगका पहिलो दुई चरण 'यम र नियम'ले सामाजिक सदाचार र मानवता सिकाउने उल्लेख गर्दै उनले यसलाई धार्मिक अन्धताभन्दा माथि राख्नुपर्नेमा जोड दिए ।
उनले सत्य, न्याय र मानवतावादलाई नै विचार निर्माणको मुख्य आधार बनाउनुपर्ने भन्दै नेपाली समाजलाई आफ्नै मौलिक ज्ञान, दर्शन र विद्वताको पहिचान गर्न आग्रह गरे। ओलीको यस अभिव्यक्तिले नेपाली बौद्धिक वृत्तमा आफ्नै मौलिकताको सम्मान र बाह्य शक्तिको देवत्वकरण गर्ने प्रवृत्तिमाथि पुनः नयाँ बहस सतहमा ल्याएको छ ।
प्रतिक्रिया