काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन्।
मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नभएको दाबी गरेका हुन्।
उनले गभर्नर नियुक्तिमा समेत कुनै समस्या नरहेको जिकिर गरेका छन्। ‘गठबन्धनमा कुनै समस्या छैन। गर्भनरको नियुक्ति ढिलो हुनु राष्ट्र बैंकभित्रकै समस्याले हो। ओलीजीका कारणले गर्भनर नियुक्त हुन ढिलो भएको होइन,’ उनले भने।
कांग्रेस-एमालेबीच कुरा नमिल्दा गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको चर्चा चलिरहेका बेला देउवाको यस्तो अभिव्यक्ति आएको हो। नेपाल राष्ट्र बैंक गत चैत २४ गतेदेखि गभर्नरविहीन छ ।
साथै उनले पार्टीभन्दा पनि राष्ट्र राम्रो बनाउने सबैको कर्तव्य भएकाले त्यसतर्फ लाग्नुपर्ने बताए। देशको अर्थतन्त्रको क्षेत्रमा उदारीकरणका विषयमा कांग्रेसको जीत भएको भन्दै उनले दलगत स्वार्थभन्दा पनि बढी राष्ट्रिय स्वार्थलाई ध्यान दिनुपर्नेमा जोड दिए।
प्रतिक्रिया