×

देशभर वर्षा : बाढीपहिरो आउने सम्भावना , सतर्क रहन आग्रह

images

काठमाडौं ।  देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । हाल देशका अधिकांश स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम विज्ञान विभागले जनाएको छ । पूर्व र पश्चिम नेपालका केही ठाउँमा ठूलो पानी परेको छ । पछिल्लो ३ घण्टामा उदयपुर, सप्तरी, सिराहा आसपासका विभिन्न ठाउँमा मध्यमदेखि भारी वर्षा भएको  विभागले जनाएको छ ।

पछिल्लो १ घण्टामा कन्चनपुरको सुन्दरपुर वर्षामापन केन्द्र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । गएराति कैलालीको धनगढी (अत्तरिया) वर्षामापन केन्द्र आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको छ । यसमध्ये केही क्षेत्रमा थप वर्षासमेत हुने सम्भावना रहेकोले आसपासका नदी तथा खोला तटीय क्षेत्रमा बाढीको जोखिम रहेको विभागले जनाएको छ । यसैगरी तराईंका केही क्षत्रेमा डुबानसमेत हुनसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र  कर्णाली  प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति पनि देशका धेरै स्थानमा पानी पर्ने सम्भावना छ । राति बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ ।

कुन कुन नदीमा बाढीको जोखिम ?

आज नारायणी नदीमा उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै कन्काई नदीमा पनि आज उच्च जोखिम हुने र अरू समयमा मध्यम जोखिम हुने जनाइएको छ । कमला नदीमा आज उच्च र भोलि मध्यम तथा बागमती नदी पँधेरा दोभानमा आज उच्च जोखिम र भोलि अति उच्च जोखिम रहेको महाशाखाले जानकारी गराएको छ ।

यस्तै पूर्वी राप्ती रजैयामा आज मध्यम जोखिम रहेको छ भने असोज १२ गते उच्च जोखिम छ । यस्तै पश्चिम राप्ती कुसुममा आज मध्यम जोखिम रहेको तर असोज १२ गते भने अति उच्च जोखिम रहेको तथा बबई नदी आज मध्यम जोखिम छभने असोज १२ गते अति उच्च जोखिम रहेको जनाइएको छ । यी उच्च र मध्यम जोखिम रहेका नदी तथा त्यसका सहायक नदीहरूमा जलसतह खतराको तह आसपास र केही क्षेत्रमा खतराको तहसमेत पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अबको तीन दिन ती नदी तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध पनि गरिएको छ । असोज १४ गतेदेखि भने यस प्रणाली कमजोर हुने जनाइएको छ ।

शुक्रबार​ ११ असोज २०८१ १२:१७ PM मा प्रकाशित

प्रतिक्रिया